कस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान?


 


काठमाडौं , माघ ४
बिहीबारदेखि जारी हिमपात र वर्षामा आजदेखि क्रमिक रूपमा सुधार हुँदै जाने मौसमविद्ले बताएका छन् । अहिले पनि देशको पश्चिमी क्षेत्रका केही स्थानमा वर्षा र हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलले जानकारी दिइन् ।

‘सुर्खेत दिपायल आसपास अहिले पनि वर्षा जारी छ,’ मौसमविद् कँडेलले शनिबार बिहान भनिन्, ‘साथै पश्चिमी क्षेत्रका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात पनि भइरहेको छ।’

उनका अनुसार यसबाहेक देशका अन्य स्थानमा मौसम बदली भएको भए पनि वर्षा तथा हिमपात भएको छैन । ‘आजबाट मौसम क्रमिक रूपमा सुधार हँदै जाने देखिन्छ,’ मौसमविद् कँडेलले भनिन्, ‘तर पूर्ण रूपमा खुल्ले सम्भावना छैन ।’ पश्चिमी वायुबाट विकसित न्यून चापीय प्रणालीको प्रभावले नेपालमा मौसम बदली भइरहेको हो । आज पनि काठमाडौं उपत्यकालगायत मध्य क्षेत्रका केही स्थान, पूर्वका पनि केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको उनले बताइन् ।

कस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान?

माघ ४ गते (शनिबार)
दिउँसोः देशभर आंशिकदेखि सामान्यसम्म बदली रहनेछ । पहाडी तथा तराई भू-भागका थोरै स्थानमा हल्का वर्षा हुने देखिन्छ भने उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।

रातिः देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्यसम्म बदली र तराईका भू-भागमा आंशिक बदली भई पहाडी भू-भागका थोरै स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना छ।

माघ ५ गते (आइतबार)
दिउँसोः देशभर सामान्यतया सफा तथा आंशिक बदली भई पहाडी भू-भागका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना छ।

रातिः देशभर सामान्यतया सफा तथा आंशिक बदली भई पहाडी भू-भागका १-२ स्थानहरुमा हल्का वर्षा हुन सक्ने संभावना रहेको छ ।

माघ ६ गते (सोमबार)
दिउँसोः देशभर सामान्यतया सफा तथा आंशिकसम्म बदली भई पहाडी भू-भागका १-२ स्थानमा हल्का वर्षा हुने सम्भावना छ।

रातिः देशभर आंशिकदेखि सामान्यसम्म बदली भई पश्चिमी पहाडी भू-भागका १-२ स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

प्रकाशित मिति: ४ माघ २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्