कस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान?


 


काठमाडौँ , माघ ३
सोमबार राति भित्रिएको पश्चिमी न्यूनचापीय प्रणालीका प्रभावले देशका विभिन्न भेगमा हिमपातसँगै वर्षा भएको छ ।

नेपाल भित्रिएको पश्चिमी न्यूनचापीय प्रणालीले सोमबार नै सुदूरपश्चिममा भारी हिमपात गराएको थियो । त्यसपछि पश्चिम क्षेत्रमा वर्षा हुँदै बिहीबार मध्य र पूर्वी भू–भागसम्म फैलिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले अरू २४ घण्टा वर्षा तथा हिमपात नरोकिने अनुमान गरेको छ ।

शुक्रबार बिहान महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै लेखेको छ, ‘देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा तथा उच्च पहाडी तथा हिमाली भेगमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ।

साथै मध्य र पश्चिमका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा भारी हिमपातको सम्भावना रहेकाले सतर्कता अपनाउन तथा यसबाट हुने चिसोबाट बच्न सर्वसाधारण सबैलाई अनुरोध छ।’

आगामी तीन दिनको मौसम पूर्वानुमान
माघ ३ गते (शुक्रबार)
दिउँसोः देशभर सामान्यदेखि पूर्णसम्म बदली रहनेछ। देशका अधिकांश स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानमा हल्कादेखि मध्यमसम्म हिमपातको सम्भावना छ । पश्चिम तथा मध्यको उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा भारी हिमपातको सम्भावना छ ।

रातिः देशभर आंशिकदेखि सामान्यसम्म बदली रहनेछ। देशका केही स्थानमा हल्का वर्षा हुने देखिन्छ भने उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

माघ ४ गते (शनिबार)
दिउँसोः देशभर आंशिकदेखि सामान्यसम्म बदली रहनेछ । पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षा हुने देखिन्छ भने पश्चिमी उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

रातिः देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्यसम्म बदली भई पश्चिमी पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

माघ ५ गते (आइतबार)
दिउँसोः देशको पहाडी भू–भागमा आंशिक बदली भई पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

रातिः देशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रकाशित मिति: ३ माघ २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्