यूएईमा बस दुर्घटना, तीन नेपालीसहित ६को मृत्यु


 


यूएई, माघ ३
यूएईको आबुधाबीमा बिहीबार भएको बस दुर्घटनामा परेर तीन जना नेपालीसहित अहिलेसम्म ६ जनाको ज्यान गएको छ । यूएईमा रहेको नेपाली दूतावासका अनुसार दुर्घटनामा ज्यान गुमाउनेहरुमा झापाकी कृष्णकुमारी अधिकारी, प्युठानकी भावना कुँवर र ठेगाना नखुलेकी अमिसा मोक्तान तामाङ रहेका छन् ।

यूएईको एमबीएम कम्पनीमा सरसफाइसम्बन्धी काम गर्ने महिला कामदार बोकेको मिनिबस बिहीबार बिहान आबुधाबीको अल रहा क्षेत्रमा लरीमा ठोक्किएर दुर्घटना हुँदा तीन जना नेपाली महिलासहित ६ जनाको ज्यान गएको हो । अन्य ज्यान गुमाउनेमा बसका चालक एक पाकिस्तानी पुरुष, एक जना श्रीलङ्काली र एक जना अफ्रिकन महिला कामदार रहेका छन् ।

दुर्घटना गम्भीर भएकाले शव पहिचान गर्न ढिलाइ भएको हो । काममा जान २४ जना कामदार चढेको बस दुर्घटना हुँदा घाइते भएका अन्य १४ जनाको पनि नाम र ठेगाना खुलेको छ । घाइते १४ जनामध्ये पाँच जनाको आबुधाबीको खालिफा सिटीमा रहेको एनएमसी अस्पतालमा उपचार भइरहेको छ । सिन्धुपाल्चोककी माया तामाङ र सरिता थापा, झापाकी तुलसा थापा र पवित्रा गुरुङ तथा ईलामकी सिता सुब्बाको एनएमसी अस्पतालमा उपचार भइरहेको छ ।

त्यस्तै घाइते पाँच जनाको माफ्राक अस्पतालमा उपचार भइरहेको छ । मकवानपुरको टिस्टुङ पालुङकी रिता सिवाकोटी, चापागाउँ ललितपुरकी कमला नेपाली, झापाकी मुना राई, दाङ घोराहीकी आशा घर्ती मगर र सुजला विश्वकर्मा ९ठेगाना नखुलेको० छन् । त्यही अस्पतालमा उपचारत चितवनकी निर्मला प्रजा सामान्य उपचारपछि बिहीवार साँझ नै कम्पनीको क्याम्प फर्किएका छन् ।

त्यस्तै अलरहा अस्पतालमा मकवानपुर हेटौँडाकी मिना सिंह, नुवाकोटकी सरिता तामाङ, सुनसरी धरानकी वर्षा विश्वकर्मा उपचाररत हुनु हुन्छ । घाइते १२ जनाको अवस्था सामान्य रहे पनि नुवाकोटकी सरिता तामाङको अवस्था भने चिन्ताजनक रहेको अस्पताललाई उद्धृत गर्दे दूतावासले जनाएको छ ।

प्रकाशित मिति: ३ माघ २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्