देशभर हिमपात र वर्षा, जनजीवन प्रभावित


 


काठमाडौँ, माघ ३
सोमबार राति भित्रिएको पश्चिमी न्यूनचापीय प्रणालीका प्रभावले देशका विभिन्न भेगमा वर्षा र हिमपात भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपाल भित्रिएको पश्चिमी न्यूनचापीय प्रणालीले सोमबार नै सुदूरपश्चिममा भारी हिमपात गराएको थियो । त्यसपछि पश्चिम क्षेत्रमा वर्षा हुँदै बिहीबार मध्य र पूर्वी भूभागसम्म फैलिएको छ ।

“बिहीबार साँझदेखि जुम्ला, हुम्ला, मनाङलगायत हिमाली भेगमा भारी हिमपात भइरहेको छ भने मध्य पहाड, पूर्वी पहाड र तराईमा वर्षा भइरहेको छ,” मौसमविद् बरुण पौडेलले भने, “वर्षासंगै तराईमा लागेको हुस्सु भने हटेको छ ।”

हिउँदे वर्षा भए पनि यो वर्षापछि मौसममा तातोपन बढ्ने उनको भनाइ छ । महाशाखाका अनुसार शुक्रबार दिनभर मौसममा बदली भई देशका विभिन्न भेगमा हल्कादेखि मध्यम वर्षा हुनेछ । पश्चिमी उच्च पहाडी भेगमा भारी हिमपात हुनेछ ।

शनिबारदेखि भने मौसममा सुधार आउने छ तर अर्को साता फेरि फाट्टफुट्ट वर्षा हुने सङ्केत देखिएको छ। वर्षा र हिमपातसँगै चिसो बढ्ने भएकाले सबैलाई सावधानी अपनाउन समेत अनुरोध गरिएको छ।

प्रकाशित मिति: ३ माघ २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्