प्रचण्डले भने–मैले १७ मान्छे मारेको होइन, पाँच हजारको मात्रै जिम्मा लिन्छु
काठमाडौं, माघ २
नेकपाका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन माओवादी युद्धका बेला मारिएका १७ हजारमध्ये आफूले ५ हजारको मात्र जिम्मा लिने बताएका छन् । हिजो काठमाडौंमा माघी मेलाको उद्घाटन गर्दै उनले गलत तथ्यांक सच्याउन भन्दै दाहालले त्यसबेला मारिएका १२ हजारको जिम्मा त्यस बेलाका राजा र राज्य सञ्चालन गरेकाहरूले लिनुपर्ने बताए।
‘पहिले म तथ्यांक मात्र सच्याउन चाहन्छु। तथ्यांक के भने मैले १७ हजार मान्छे मारेर आएको भन्ने गरिन्छ, यो सत्य होइन, सत्य के हो भने हिजोका सामन्ती राजाहरूले १२ हजार मारेका हुन् मलाई ५ हजारको जिम्मा दिनुहुन्छ भने जिम्मा म लिन्छु’, दाहालले भने, ‘तर राजाहरूले मारेको १२ हजारको चाहिँ कुरा नहुने, राज्यले मारेको पनि मेरै टाउकामा हाल्ने गरियो भने त्यो न्याय हुँदैन। मैले सधैं भनेको छु, युद्धको म जिम्मा लिन्छु। त्यहाँ भएका राम्रा–नराम्रा कामको म जिम्मा लिन्छु। त्यसबाट कहीँकतै भाग्ने कुरा हँुदैन।’
उनले आफूले सबै विषयलाई बुझेर आन्दोलनलाई अहिले चौतारीमा बिसाएको मात्र बताए। ‘आन्दोलन, संघर्ष भन्ने कुरा एउटा ठूलो पहाड चढेजस्तो हो। अहिलेसम्म कसैले नचढेको पहाड चढेजस्तै हो। पहाड चढ्दा कोही नपुगेको उचाइमा पग्दा माउन्ट एभरेष्ट चढ्न खोज्दा तपाई सीधै नाक अगाडिबाट जान सक्नुहुन्न’, दाहालले अगाडि थपे, ‘तपाईले दायाँ, बायाँ फर्किनुपर्ने हुन्छ। कहिलेकाहीँ तल झरेजस्तो पनि गर्नुपर्ने हुन्छ। चौतारीमा बिसाउनुपर्ने पनि हुन्छ। यो कुरा नबुझीकन तपाईहरूले आरोपित गर्नेतिर लाग्नुभयो भने त्यसले भलो गर्दैन।’
नयाँ चिज लिन पोल्टामा प्राप्त भएको कुरा नगुमोस् भन्नेमा सचेत हुनुपर्ने भन्दै दाहालले बुद्धिमतापूर्वक नै आफूहरूले आन्दोलन अगाडि बढाइरहेको जिकिर गरे। उनले भने, ‘माओवादी आन्दोलनमा सहभागीहरूको हकहितको प्राप्ति नहुँदासम्म, पूर्णरूपमा मुक्ति नहुँदासम्म म तपाईहरूको ऋणी छु। मेरो काँधमा तपार्इैहरूको जिम्मेवारी छ। मैले बुद्धिमतापूर्वक, आवेगमा होइन, उत्तेजनामा होइन, बुद्धि पुर्याएर सबै जनसमुदायको पूर्ण मुक्तिको आन्दोलनलाई अगाडि लैजान जरुरी छ। यसमा तपाईहरूको साथ–सहयोग जरुरी छ।’ अन्नपूर्णमा खबर छ ।
प्रकाशित मिति: २ माघ २०७६, बिहिबार