डनले गराउँछन् सिडिओ र एसपीको सरुवा!
नुवाकोट, माघ १
गत वर्ष नुवाकोटका क्रसर व्यवसायीहरू गृह मन्त्रालय धाइरहेका थिए । आफूअनुकूलका एसपीलाई लैजान उनीहरूले सत्तारुढ नेकपा नेताहरूलाई भेटिरहेका थिए ।आफूहरूको खानी र क्रसरलाई सहयोग गर्ने एसपी उनीहरू नुवाकोट लैजान चाहन्थे । उनीहरूकै रोजाइअनुसार प्रहरी प्रधान कार्यालयले एसपी कृष्णबहादुर पल्लीमगरलाई पठायो ।
पल्लीमगर पुगेपछि खानी र क्रसरको व्यवसाय चम्कियो, नदीको दोहन अनियन्त्रित भएको भन्दै स्थानीयको विरोध पनि चुलियो । नदीको दोहनमा प्रहरी नेतृत्वको मिलेमतोको खुलस्त भएपछि ६ महिनाभित्रै पल्लीमगरलाई झिकाउन प्रहरी प्रधान कार्यालय बाध्य भयो ।
क्रसरकै कारण गोरखामा सिडिओ र एसपीबीच विवाद
गत वर्ष गोरखामा बालुवा खानी तथा क्रसरकै कारण एसपी र सिडिओबीच विवाद भयो । खासमा खानी तथा क्रसर उद्योगीबाट प्राप्त आम्दानी बाँडफाँडमा उनीहरूबीच भएको विवाद बाहिर आएको थियो ।
सिडिओ नारायणप्रसाद भट्टराईले खानी सञ्चालकलाई संरक्षण गरेको आरोप एसपी विमल बस्नेतको थियो । सोही विवाद चर्किएपछि दुवैजनालाई गृह मन्त्रालयले सरुवा गरेको थियो । त्यसपछि पनि गोरखामा एक दर्जन खानीहरू अवैध रूपमा सञ्चालन भइरहेका छन् ।
क्रसरमा प्रहरीको सेयर, हेर्न जाँदा डिआइजीको मृत्यु
कतिपय जिल्लामा सिडिओ र प्रहरी अधिकारीहरूले नै आफन्तको नाममा क्रसर र खानीमा सेयर लिएका छन् । आफूले सेयर पाएको बालुवाखानीकै बारेमा बुझ्न जाँदा डिआइजी सुशील भण्डारी चढेको गाडी एक वर्षअघि मण्डन–देउपुरमा दुर्घटनाग्रस्त भएको थियो, जहाँ उनको समेत निधन भयो ।
त्यस्तै, डिएसपी सुकदेव खनाल काभ्रेमा कार्यरत रहँदा बेथानचोकस्थित एक क्रसर उद्योगको सेयर श्रीमतीको नाममा लिएका थिए ।
हरिया डाँडा तहसनहस, गाउँका गाउँ उठिवास
काभ्रेको पनौती नगरपालिका–२ रोसी खोलाकी ५७ वर्षीया शारदा थापा गत २७ असारको दिउँसो आँगनमा थिइन् । निरन्तरको वर्षा रोकिएको एक दिन मात्रै भएको थियो ।
डायमन्ड रोडा तथा ढुंगा खानी उद्योगको एक्साभेटरले आधा खनेको घरमाथिको बाघवीर डाँडोबाट ढुंगाको पहिरो खस्न थाल्यो । हेर्दाहेर्दै घरको आधा भाग पहिरोले बगाएर रोसी खोलाको बगरमा पु¥यायो । दिउँसो भएकाले उनी बल्लबल्ल बाँचिन् ।
‘भिर भत्किँदा डाँडो नै थर्किने गरी आएको आवाजले मुटु नै फुट्लाझैँ भयो । घर पहिरोले लग्यो, दिउँसो भएकाले धन्न बाँचेँ । नत्र मेरो त्यहीँ चिहान हुने थियो,’ शारदाले मंगलबार सात महिनाअघिको कहालीलाग्दो घटना सुनाइन् ।
दुई वर्षअघि डायमन्ड रोडा उद्योगले सिंगै बाघवीर डाँडो किन्यो । लगत्तै सञ्चालक दीपक भण्डारीले घरसहितको जग्गा बेच्न थापालाई दबाब दिन थाले, तर उनले मानिनन् । त्यसपछि भण्डारीले एक्साभेटर ल्याएर घरमाथिको डाँडो धमाधम खन्न थाले । त्यसको कम्पनले खल्बलिएको भिर लगातारको वर्षाले २७ असारमा भत्कियो ।
केही महिनापछि भण्डारी फेरि थापाकहाँ आए र जग्गा बेच्न पुनः धम्क्याउन थाले । ज्यान नै जोखिममा राखेर अब यहाँ बस्न उनलाई आँट आएन । केही सीप नलागेपछि बारी र घरसहितको साढे ६ रोपनी जग्गा ७५ लाख रुपैयाँमा बेचिन् ।
त्यो रकमले बनेपामा तीन आना जग्गा किनिन् । अहिले उनीसँग भएको सम्पत्ति त्यत्ति हो । ‘फाली बिगारेर सियो बनाएझैँ भएको छ । तीन भाइ छोरा छन् । यति सम्पत्तिले के गर्ने हुन् थाहा छैन । खानी उद्योगले मेरो त घरबार नै उठायो,’ उनले भनिन् ।
पनौती–२ की गोमा भुजेलको घर रोसी खोलाको बगरभन्दा झन्डै पाँच सय मिटरमाथि बाघवीर डाँडाको पाखोमा छ । घरको करिब सय मिटर तल काठमाडौं रोडा तथा ढुंगा खानी उद्योगका १० भन्दा धेरै एक्साभेटर चलिरहेका छन् ।
घरको ठीक दायाँतर्फको पहाड भत्किसकेको छ । बायाँतर्फ भने जग्गा र केही घर बाँकी छन् । नयाँ पत्रिका टोली पुग्दा ७२ वर्षीया भुजेल धमाधम भत्काइँदै गरेको पाखो हेरर टोलाइरहेकी थिइन् ।
‘सम्पत्तिको नाममा यही घरबारी हो । खानी उद्योगले आजै जा, भोलि नै जा भन्छ । यो बुढेसकालमा कहाँ जाने ? घरभन्दा तल र दायाँतर्फको पाखो भत्काइसक्यो । अब त घर नै कतिखेर लड्छ भन्ने भइसक्यो,’ उनले पीडा सुनाइन् । स्थानीयलाई जग्गा बेच्न दबाब दिइरहेको उद्योगले चलेको रेट पनि दिन मान्दैन, बाध्य बनाएर कौडीको भाउमा किन्न खोज्छ ।
भुजेलका अनुसार काठमाडौं रोडा तथा ढुंगा खानी उद्योग अवैध हो । जाहेरी लिएर उनी वडा कार्यालय पनि पुगिसकिन् । तर, सुनुवाइ नै भएन । ‘विनादर्ता यसले दुई वर्षदेखि डाँडो खनेको छ । खोला पनि मिचेको छ । जाहेरी लिएर वडा कार्यालय पुगेर हारगुहार गरेँ, तर सुनुवाइ भएन । अब म कहाँ जाऊँ ?’ उनले भनिन् । आजको नयाँ पत्रिकाबाट
प्रकाशित मिति: १ माघ २०७६, बुधबार