दशैँ तिहार २५ दिन पर सर्यो, विवाहको लगन १५ दिन मात्रै


 


काठमाडौँ, माघ १
विक्रम संवत् २०७७ सालको दशैं र तिहार २५ दिन पर धकेलिएको छ । नयाँ पात्रोअनुसार असोज एक महिना मलमास परेकाले दुई चाडपर्व करिब एक महिना धकेलिएको हो।

पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष रामचन्द्र गौतमले मलमासका कारण विवाहको लगनलाई समेत असर पारेको जानकारी दिए। आउँदो वर्ष विवाहको लगन करिब १५ दिनजति मात्रै छ। २०७६ सालमा करिब ३० दिन साइत परेको थियो।

व्रतबन्धको साइत जम्मा पाँच दिन मात्रै छ। पञ्चाङ्ग निर्णायक समितिले निर्णय गरेअनुसार विसं २०७७ सालको घटस्थापना कात्तिक १ गते परेको छ। पात्रोअनुसार कात्तिक ७ गते फूलपाती, ८ गते महाअष्टमी, ९ गते महानवमी र १० गते विजया दशमी अर्थात् टीका परेको छ।

तिहार कात्तिक २८ गतेदेखि शुरू हुनेछ। २८ गते कागतिहार, २९ गते बिहान कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा, ३० गते गोवद्र्धन तथा म्हः पूजा र मंसिर १ गते भाइटीका रहेको पञ्चाङ्ग निर्णायक समितिका सदस्य–सचिव सूर्यप्रसाद ढुंगेलले जनाएका छन। यो समाचार आजको नेपाल समाचारपत्रमा इश्वरराज ढकालले लेखेका छन।

प्रकाशित मिति: १ माघ २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्