मुसर्रफको मृत्युदण्ड फैसला बदर


 


एजेन्सी, पुस २९
पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफलाई सुनाइएको मृत्युदण्डको फैसला बदर भएको छ।

लाहोर उच्च अदालतले मुसर्रफविरुद्धको सजाय उल्टाउँदै यसअघिको फैसला प्रक्रिया असंवैधानिक भएको ठहर गरेको हो। सो अदालतको पूर्ण इजलासले उनले दिएको निवेदनमाथि बहस गर्दै यस्तो फैसला सुनाएको हो।

यसअघि यही पुस १ मा इस्लामावादस्थित उच्च अदालतले संविधानको अवहेलना तथा गम्भीर देशद्रोहको मुद्दामा दोषी ठहर गर्दै मुसर्रफलाई मृत्युदण्डको फैसला सुनाएको थियो ।

सन् १९९९ मा सेना प्रमुख छँदा सैनिक विद्रोहमार्फत सत्ता कब्जा गर्दै अन्तरिम सरकार प्रमुख बन्नुभएका मुसर्रफ सन् २००१ देखि २००८ सम्म पाकिस्तानको राष्ट्रपति रहेका थिए ।

उनीमाथिको देशद्रोहको अभियोग सन् २०१३ यता चलिरहेको छ। आफ्नो कार्यकाल लम्ब्याउने उद्देश्यका साथ मुसर्रफले संविधानको निलम्बन गर्दै सन् २००७ मा संकटकाल घोषणा गरेको आरोप छ।

प्रकाशित मिति: २९ पुस २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्