महराको मुद्दामा सरकारी पक्षका साक्षीलाई अदालतले दियो यस्तो आदेश


 



काठमाडौं, पुस २८
संसद्को महिला कर्मचारीलाई बलात्कार प्रयासको आरोपमा थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दामा आइतबार काठमाडौं जिल्ला अदालतले सरकारी पक्षका साक्षीको बकपत्र गराउने आदेश दिएको छ ।

पेसी सूचीमा चढेको मुद्दामा जिल्ला न्यायाधीश अम्मरराज पौडेलको इजलासले पीडित महिलाको स्वास्थ्य परीक्षण गर्ने चिकित्सक, मुचुल्कामा सही गर्ने र विधि विज्ञान प्रयोगशालाका चिकित्सकको बकपत्र गर्न आदेश दिएको हो ।

बकपत्र गराउने काम सकिएपछि मुद्दाको अन्तिम सुनुवाइ हुनेछ । महरा पक्ष र सरकारी पक्षका वकिलले आ–आफ्ना तर्कसहितको बहस गरेपछि अदालतले फैसला सुनाउनेछ । पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेशविरुद्ध महराले पाटन उच्च अदालतमा पुनरावेदन दिएका थिए । उच्चले थुनामा राख्ने आदेशलाई सदर गर्दै एक महिनाभित्र फैसला गर्न आदेश दिएको थियो ।

अदालतमा सरकारी पक्षकासँगै महराका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठ, अधिवक्ता मुरारी सापकोटाले बहस गरेका थिए । मुद्दाको पेसी भएकाले महरालाई पनि अदालत लगिएको थियो । नयाँ पत्रिका खबर छ ।

प्रकाशित मिति: २८ पुस २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्