प्रधानमन्त्री ओलीले भने- ‘बाहिर भेला गर्दै हिँड्नेले सभामुखबारे निर्णय गरुन्’


 


काठमाडौं, पुस २८
संविधान संशोधन र सभामुख चुनावका बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दबाब दिने उद्देश्यले नेकपा अध्यक्ष पुष्पकमल दाहालको अगुवाइमा भएको छुट्टै भेला उनीहरुकै लागि प्रत्युत्पादक बन्ने देखिएको छ । नयाँ सभामुख चयनका लागि उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले पहिले राजीनामा दिनुपर्ने निष्कर्ष उक्त भेलाले निकालेको थियो । सचिवालय सदस्य बामदेव गौतमको निवास भैंसेपाटीमा गत बुधबार भएको भेलामा अध्यक्ष दाहालसहित नेताहरु झलनाथ खनाल, माधव नेपाल, गौतम र नारायणकाजी श्रेष्ठ सहभागी थिए ।

उक्त भेलापछि प्रधानमन्त्री ओली रुष्ट बनेको र सभामुख चयनबारेको छलफलमा सहभागी हुनै नचाहेको उनीनिकट स्रोतको भनाई छ। ‘तपाइँहरु नै बैठक गर्दै हिँड्नुभएको छ, कसले के गर्ने निर्णय पनि गरिहाल्नुहुन्छ, आफैं मिलाउनुस् न’ ओलीले भैंसेपाटी भेला गर्ने पक्षलाई दिएको जवाफ उद्धृत गर्दै स्रोतले भने । स्रोतका अनुसार उनले सभामुख चयनका विषयमा तत्काल थप कुरा गर्नै चाहेका छैनन् । यही कारण शनिबार बसेको सचिवालय बैठकमा पनि उनी उपस्थित भएनन्।

आइतबार अर्का अध्यक्ष दाहाल, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरल, महासचिव विष्णु पौडेल र उपसभामुख तुम्बाहाङ्फेबीच भएको छलफलमा उपसभामुखलाई राजीनामा गराउने विषयमा पनि उनी मौन रहे। प्रधानमन्त्री ओलीको बेवास्ता र उपसभामुख तुम्बाहाङ्फेको अडानका कारण संसदको हिउँदे अधिवेशन सूचना टाँसेर तेस्रो पटक स्थगित भइसकेको छ । यो समाचार आजको कान्तिपुर दैनिकबाट लिइएको हो ।

प्रकाशित मिति: २८ पुस २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्