ठुलो दुर्घटना हुनबाट जोगियो बझाङ जाँदै गरेको बस


 


बझाङ – धनगढीबाट बझाङको चैनपुरका लागि यात्रु लिएर जाँदै गरेको बस ठुलो दुर्घटनाबाट जोगिएको छ ।

बिहिबार बझाङको चैनपुरको लागि धनगढीबाट ४० यात्रु लिएर छुटेको ना ४ ख ६५६३ नम्बरको यात्रु बाहक बस दुर्घटनाबाट जोगिएको हो ।

जयपृथ्वी राजमार्ग अन्तर्गत खोपडे-चैनपुर अन्तर्गत रहेको बैतडीको डोल्यामोड नजिकै अत्याधिक हिउको कारण सडकको लिकबाट छिप्लिएर भिरमा गएर रोकिएको थियो ।

सुदूरपश्चिमका उच्च पहाडी जिल्लामा अत्याधिक हिमपातका कारण सडक यातायात अवरुद्ध बनेका छन । साथै पहाडी र हिमाली जिल्लाको जनजीवन प्रभावित बनेको छ ।

सुदूरपश्चिमका पहाडी जिल्ला डडेल्धुला, बैतडी, बाजुरा, अछाम, बझाङ र दार्चुलाका हिमाली क्षेत्रमा हिमपात भएको हो ।

हिमपातले यस क्षेत्रको जनजीवन कष्टकर हुनुका साथै विद्युत, टेलिफोन सेवा तथा यातायात समेत बन्द भएको छ ।

यातायातका साधन बन्द हुँदा धनगढी, महेन्द्रनगर, काठमाडौं लगायत जिल्ला बाहिर जाने र यात्रु समेत अलपत्र परेका छन् । साथै यहाँ संचालित एफएम रेडियो, नेपाल टेलिकम, एनसेल टेलिकमका टावरमा विधुत आपूर्ति बन्द हुँदा सेवा प्रभावित भएको छ ।

प्रकाशित मिति: २६ पुस २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्