अवैध उत्खननको विरोध गर्ने युवकको टिपरले किचेर हत्या, पूर्वपश्चिम राजमार्ग अवरुद्ध


 


काठमाडौँ, पुष २५
धनुषामा अवैध ढंगले खोला उत्खननको विरोध गर्ने एक युवकको हत्या भएको छ। मिथिला नगरपालिका-५ श्रीपुरका ओमप्रकाश भनिने २४ वर्षीय दिलीपकुमार महतोको हत्या भएको हो।

आज बिहान अन्दाजी पाँच बजे उनको हत्या भएको हो। छिमेकी साथी रोशन यादवसँग मर्निङवाक गएको बेला घर नजिकैको खोलामा ना ७ ख ६४१३ नम्बरको टिपरले किचेर उनको हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। जिल्ला प्रहरी कार्यालय धनुषका अनुसार उनको घटनास्थलमै मृत्यु भएको हो। टिपर प्रहरीले नियन्त्रणमा लिएको छ।

घटनाको प्रकृति हेर्दा नियोजित रुपमा टिपरले किचेर दिलिपको हत्या गरेको हुन सक्ने ईलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक रामकुमार यादवले बताए। घटना पश्चात् टिपर चालक फरार छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

अहिले घटनास्थलमा स्थानीय भेला भएर घटनाको विरोध गरिरहेका छन्। गिट्टीबालुवा उत्खनन गरिरहेकै ठाउँमा उनको हत्या भएको हो।

दीलिपले पहिलादेखि नै अवैध रुपमा हुँदै आएको खोला उत्खनननको विरोध गर्दै आएका थिए। सोही कारण क्रसर सञ्चालकले उनको नियोजित रुपमा हत्या गरेको स्थानीयले बताएका छन्। स्थानीयका अनुसार हत्या गरिएका युवक भारतमा ईन्जिनियरिङ पढ्दै थिए।

घटनाको विरोधमा स्थानीयले मिथला नगरपालिकाको श्रीपुर स्थित रामलक्ष्मण चोकमा सडकमा टायर बालेर पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन्।

प्रकाशित मिति: २५ पुस २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्