नयाँ भवनमा नगरपालिका बसेपछि विद्यार्थी पुरानैमा,भएन बालमैत्री विद्यालय


 


दैलेख, पुस २५
दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका-६ स्थित जयदेव उच्च माध्यमिक विद्यालयसँग कूल पाँच वटा भवन प्रयोगमा छन्।

ती भवनहरूमध्ये विद्यालयले कूल ११ वटा कोठा प्रयोग गरिरहेको छ। बाँकी ८ कोठे भवन नगरपालिकालाई भाडामा प्रयोग गर्न दिइएको छ। आर्थिक वर्ष २०७३÷७४ मा निर्माण सम्पन्न भएको ८ कोठे नयाँ भवन नगरपालिकालाई कार्यालय सञ्चालन प्रयोजनका लागि भाडामा दिइएको हो। मासिक ३० हजार रुपैयाँ (करबाहेक) विद्यालयलाई उपलब्ध गराउने गरी नगरपालिकाले भवन भाडामा लिएको छ।

नयाँ भवन नगरपालिकालाई भाडामा दिइएपछि ६ देखि १२ कक्षासम्म अध्यापन हुने विद्यालयले आफ्नो शैक्षिक गतिविधि पुराना संरचनामै सञ्चालन गरिरहेको छ। कूल ५ सय ३८ जना विद्यार्थीका लागि विद्यालयमा ९ वटा कक्षाकोठा छुट्ट्याइएको छ। दुई कोठालाई विद्यालयको प्रशासनिक कार्यका लागि छुट्ट्याइएको छ।

विद्यालयले पक्की भवन नगरपालिकालाई भाडामा दिएपछि विद्यार्थीहरू पुरानो कच्ची भवनको कक्षाकोठामै अध्ययन गर्न बाध्य भएका छन्।

‘एकातिर नयाँ भवन नगरपालिकालाई दिएर पुराना संरचनामा विद्यार्थी राखिएको छ। अर्कोतिर विद्यालयको भवन नगरपालिकालाई दिँदा विद्यालयको शैक्षिक गुणस्तर राम्रो देखिन्न,’ नगरपालिकाका स्थानीय ईश्वर विष्टले भने।

विद्यालय छेउमै नगरपालिकाले आफ्नो दैनिक प्रशासनिक कामकाजका लागि कार्यालय स्थापना गर्नुले विद्यालयलाई बालमैत्री हुनबाट रोकेको छ। नगरपालिकाको कार्यालयमा आयोजित कार्यक्रम, सेमिनार तथा गोष्ठीले विद्यालयको शान्त शैक्षिक वातावरणमा खलल पारेको विष्ट बताउँछन्। ‘विद्यालयमा अध्ययनअध्यापनका लागि शान्त वातावरण नै छैन,’ उनले भने, ‘नगरपालिकाको होहल्ला कक्षाकोठासम्म आइपुग्छ।’

यसअघि अन्य नागरिकको भवन भाडामा लिएर नगरपालिकाले कार्यालय सञ्चालन गरेको थियो। तर, उक्त भवन सानो भएको बताउँदै नगरपालिकाले विद्यालयसँग भाडामा भवन लिएको हो। विद्यालयका प्रध्यानाध्यापक तिलकप्रसाद शर्माले नगरपालिकाले कार्यालय प्रयोजनमा भाडामा मागेपछि दिएको बताए। कार्यपालिकाले निर्णय गरेरै भवन उपलब्ध गराउन भनेपछि विद्यालयले भवन भाडामा दिएको उनले बताए।

२०७५ माघदेखि २०७७ माघसम्मका लागि भवन भाडामा उपलब्ध गराइएको विद्यालयले जनाएको छ। ‘सम्झौता सकिएपछि आफैं प्रयोग गर्छौं। त्यो बेलासम्म नगरपालिकाले पनि आफ्नो व्यवस्था गर्छ होला,’ प्रध्यानाध्यापक शर्माले भने।

नगरपालिकाको कार्यालय विद्यालयको भवनबाट सञ्चालन हुँदा शैक्षिक गतिविधिमा असर नपरेको उनको दाबी छ। ‘विद्यालयको अर्को भवन अलि उचाईमा छ। नगरपालिकाको होहल्ला कक्षाकोठासम्म आउँदैन,’ उनले भने।

शिक्षा विकास निर्देशनालय सुर्खेतका निमित्त निर्देशक भक्तबहादुर ढकालले स्थानीय तहलाई शिक्षा क्षेत्रको व्यवस्थापकीय जिम्मेवारी गइसकेको बताउँदै नयाँ भवन नगरपालिकाले प्रयोग गरी पुरानामा विद्यार्थीलाई राख्नु अशोभनीय भएको बताए।

‘देश सङ्‍घीयतामा गइसकेपछि नयाँ संरचनामा गाह्रो छ। सबै ठाउँमा भवन, कर्मचारीलगायतका समस्या देखिन्छन्,’ उनले भने, ‘तर, नयाँ भवन नगरपालिकाले आफूलाई रोज्नु अशोभनीय हो।’ विद्यार्थीको सुविधाका लागि बनाइएको भवनमा विद्यार्थीले नै प्रयोग गर्नपाउने अधिकार रहेको उनले बताए।

प्रकाशित मिति: २५ पुस २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्