मिटर ब्याजीको यस्तो अवैध धन्दा : ऋण डेढ करोड, तमसुक ६ करोड


 


काठमाडौं, पुस २४
धनुषा पुष्पलपुरका शत्रुधन साहले सञ्जय गुप्तासँग एक करोड ५० लाख रुपैयाँ ऋण लिए। डेढ करोड रुपैयाँ लिए पनि उनलाई कूल ऋणको चार गुणा अर्थात् ६ करोड रुपैयाँ लिएको तमसुक गराइयो। ऋण लिएकै आधारमा शत्रुधनले पुष्पलपुरको आफ्नो नाममा रहेको साढे तीन बिघा जग्गा पनि गुप्ताको नाममा पास गरिदिए।

शत्रुधनले गुप्तालाई अहिलेसम्म साँवा र ब्याजवापत चार करोड रुपैयाँ बुझाइसकेका छन्। रकम बुझाएको आधिकारिक हिसाब शत्रुधनले मात्र राखेका छन्। लिने र दिने दुवैले हस्ताक्षर गरेको आधिकारिक कागजपत्र छैन। ६ करोड रुपैयाँ तिर्नुपर्ने लेखिएको तमसुक मात्र उनीसँग भएको आधिकारिक प्रमाण हो। ऋण दिएकै आधारमा सञ्जयले शत्रुधनको थप चार बिघा पनि रोक्का गरिदिएका छन्। विगतमा ६ करोड तिर्ने तमसुक बनाए पनि त्यत्ति नै रकम तिर्न नपर्ने बचन गुप्ताले दिए।

सोही बचनका आधारमा ४ करोड बुझाएपछि शत्रुधनले गुप्तासँग तमसुक मागे। विगतमा पास गरेको जग्गा पनि सहमतिअनुसार नै फिर्ता दिन अनुरोध गरे। तर गुप्ताले मानेका छैनन्। पटकपटक अनुरोध गर्दा पनि विविध बहाना बनाउँदै गुप्ता शत्रुधनबाट टाढिइरहेका छन्। ‘कहिले तमसुक श्रीमतीले भारत लगेको छ भन्छ, कहिले म्यानेजरले काठमाडौं लिएर गएको छ भन्छ’, शत्रुधनले अन्नपूर्णसँग भने, ‘टुक्राटुक्री जग्गा बेचेर एकै ठाउँमा किन्छु भनेर ऋण लिएको थिएँ। ऋण तिर्दातिर्दै आफूसँग भएको जग्गा सकिन लाग्दा पनि पुरानो जग्गा पाउन सकेको छैन।’

ऋण तिर्नकै लागि आफ्नो नाममा अन्यत्र भएको तीन ठाउँको जग्गा बेचेको उनले बताए। महोत्तरी सम्सीका ईश्वरचन्द्र कापरले २०७० सालमा १५ लाख रुपैयाँमा छिमेकीको जग्गा किन्ने योजना बनाए। आफूसँग भएको पैसाले नपुगेपछि सञ्जय गुप्तासँग तीन लाख रुपैयाँ सापटी लिए। उनले पनि ऋण लिएको भन्दा चार गुणा बढी अर्थात १२ लाख रुपैयाँ लिएको तमसुक बनाए। उक्त रकममध्ये उनले अहिलेसम्म गुप्तालाई आठ लाख बुझाइसकेका छन्। तर तमसुक फिर्ता गरेर च्यात्न मानेका छैनन्।

गुप्तासँग ऋण लिएको तीन लाख र आफूसँग भएको १२ लाखसहित १५ लाखमा उनले सात धुर जग्गा किनेका थिए। उक्त जग्गाको मूल्य अहिले २१ लाख जति पुगेको छ। तर ऋणवापत तिरेको ८ लाख रुपैयाँ उक्त जग्गाको मूल्यबाट घटाउने हो भने १३ लाख रुपैयाँ मात्रै हुन आउँछ। अझ तमसुकमा उल्लेख गरेअनुसारकै रकम तिर्ने हो भने थप चार लाख रुपैयाँ तिर्नै बाँकी छ। यो रकम पनि तिरिसक्दा उनको जग्गाको बाँकी मूल्य नौ लाख रुपैयाँ मात्र हुन आउँछ। उनले पनि आठ लाख रुपैयाँ तिरेपछि साहूसँग तमसुक मागे।

‘तर पैसा पूरा तिरेको छैन भन्दै तमसुक फिर्ता गर्न मानेका छैनन्’, गुनासो सुनाउन काठमाडौं आएका कापरले भने। शत्रुधन र ईश्वरचन्द्रले जसरी नै साहूसँग ऋण लिएका दुई दर्जनभन्दा बढी पीडित अहिले न्यायको खोजीमा राजधानी आएका छन्। जसमध्ये सबैजसो गरिबलाई ऋण दिएर चार गुणा तमसुक बनाउन लगाउने र घरजग्गासमेत हडप्दै हिँडेका रामबाबु राय, सञ्जय साह लगायतबाट पीडित छन्। उनीहरूले दलाली लगाएर सोझा मानिसलाई विविध बहानामा ऋण लिन लगाउने र ऋण लिएकै भरमा घरजग्गा हडप्दै अर्बौं कमाइरहेका छन्।

कतिसम्म भने तराईमा अहिले ऋण लिएवापत चार गुणा रकम देखाएर तमसुक बनाउने काम संस्कारजस्तै भएको छ। यति मात्रै होइन, थोरै रकम ऋण लिएकै भरमा बहुमूल्य पर्ने घरजग्गा नै पास गरेर दिनुपर्ने कु–संस्कार यी ठाउँमा सामान्यजस्तै भएका छन्। अन्धविश्वासका कारण दलालीले यसरी नै फसाउँदा हजारौं मानिस अहिले सडकमा रात बिताउन बाध्य भएका छन्।

दलाल नगेन्द्र रायसँग १२ हजार रुपैयाँ ऋण लिएकै कारण ५० लाख रुपैयाँ बराबरको सम्पत्ति गुमाएकी लीला पण्डितले भनिन्, ‘नगेन्द्रले मालपोतमा समेत नक्कली कागज बनाएर घर मेरो सबै सम्पत्ति खाइदियो। १५ जनाको परिवार अहिले घरवारविहीन भएका छौं।’ उनले १२ हजार ऋण लिएको भए पनि नगेन्द्रले ७२ हजारको तमसुक बनाएका थिए। सोही ऋण लिएवापत आफ्नो नाममा रहेको एक ठाउँको ४ धुर र अर्को ठाउँको ९ कठ्ठा जग्गा नगेन्द्रले आफ्नो नाममा पास गरेको लीलाले बताइन्। ‘म अहिलेसम्म जग्गा पास गर्न मालपोत गएको छैन। तर कसरी नक्कली कागजपत्र बनाएर जग्गा पास गरेको मलाई थाहा नै छैन’, साधारण लेखपढ गर्नसमेत नजान्ने लीलाले भनिन्।

दलालहरूले गरिबलाई जग्गा दिँदा ३६ प्रतिशतको दरले ब्याज दिने गरी तमसुक बनाउँछन्। साथै कूल दिएको ऋणको चार गुणाका दरले तमसुक बनाउनु तराईका क्षेत्रमा सामान्यजस्तै भएको छ। चर्को ब्याज तिर्नुपर्छ भन्ने जान्दा जान्दै पनि कतिपयले भने धेरै नाफा कमाउने नाममा यसरी जग्गासमेत पास गरेर दिने गरेका छन्। गाउँभर नै यस्तै संस्कार भएका कारण उनीहरूले तमसुकमा सहीछाप गरेपछि त्यहाँ उल्लेख गरेअनुसार रकम तिर्नुपर्छ भन्ने हेक्का राख्न सक्दैनन्।

अझ डरलाग्दो विषय त एकपटक साहूलाई पास गरेर दिएको जग्गा फेरि फिर्ता पाइन्छ भन्ने अन्धविश्वासका अधिकांश ऋणी कंगाल हुने गरेका छन्। गलत आश्वासकै भरमा जग्गा पास गरेर दिएपछि फिर्ताको पहल गराउँदा गराउँदै सयौं ऋणीले दुई दशक बिताइसकेका छन्। कतिपय ऋणीलाई जग्गा फिर्ता मागेमा वा कसैलाई उजुरी गरेमा गोली हानेर मारिदिने धम्की दलालले दिने गरेका छन्।

‘कसैले चर्को स्वर गरेर जग्गा फिर्ता माग्यो वा पैसा तिरेपछि तमसुक माग्यो भने गोली हानेर मारिदिने धम्की दलाले दिन्छन्’, पूर्वमाओवादी कार्यकर्तासमेत रहेका उपेन्द्र महतो लठियाले भने, ‘प्रहरी प्रशासन, अदालत, गुण्डा सबै दलालसँगै हुन्छन्। उनीहरूका अगाडि सोझा जनताको के लाग्छ ? ’ नेकपा महोत्तरीका सदस्य कोशीलाल यादवले भने, ‘तराईका जिल्लामा जतिसुकै राजनीतिक आन्दोलन भए पनि सोझा जनताको पक्षमा लड्ने मानिसको अभाव छ। जनताकै लागि राजनीति गर्छु भनेका नेता आफंै दलालीमा लाग्छन्। उनीहरूलाई केन्द्रबाटै संरक्षण हुन्छ।’

साहूको ऋण तिर्दा तिर्दै सडकको बास परेर सहनै नसक्ने भएपछि उनीहरू राजधानी आएका हुन्। उनीहरूले समस्याबारे नेकपाका अध्यक्ष प्रचण्ड, पार्टीकै अर्का नेता माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, गृहमन्त्री रामबहादुर थापा, महान्यायाधीवक्ता गृहसचिव, प्रहरीप्रमुख लगायतलाई भेटेर समस्या सुनाएका छन्। सबै नेताले समाधानका लागि तत्काल पहल गर्ने आश्वास दिएपछि उनीहरूले बिहीबार गृहजिल्ला फर्कने तयारीमा छन्। अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रकाशित मिति: २४ पुस २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्