उत्तरपुस्तिका नै साट्ने परीक्षा निरीक्षकविरुद्ध मुद्दा
काठमाडौँ, पुस २४
कर्णाली प्राविधिक शिक्षालयको परीक्षाको प्रश्नपत्र आउट गर्ने र परीक्षार्थीको उत्तरपुस्तिका नै परिवर्तन गर्ने परीक्षा निरीक्षकसहित तीन जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
शिक्षालयका परीक्षा निरीक्षक चन्द्रसिंह खत्री, परीक्षार्थी गंगाराज शाही र बाहिरबाट उत्तर लेखिदिने टंकप्रसाद चौलागाईंविरुद्ध मुद्दा दायर गरेको हो। कृषितर्फको डिप्लोमा प्रथम वर्षका परीक्षार्थी शाहीलाई उत्तीर्ण गराउन खत्रीले सबै विषयमा प्रश्नपत्र आउट गरी चौलागाईंलाई लेख्न लगाएर उत्तरपुस्तिका परिवर्तन गरी अनियमितता गरेकाले तीनै जनाविरुद्ध मुद्दा दायर गरिएको आयोगले जनाएको छ।
परीक्षार्थी शाही प्राविधिक शिक्षालयकै कर्मचारी पनि हुन्। उनको परीक्षा रद्द गरी तीनै जनालाई तीन महिना जेल सजाय र जरिवाना गर्न आयोगले अभियोगपत्रमा मागदाबी गरेको छ। आयोगले बुधबार नै घूस खाने र खुवाउने थप चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। सप्तरीको महादेवा गाउँपालिका–६ का वडासचिव नवोनाथ मिश्र, जिल्ला प्रहरी कार्यालय बाराका जवान सरोजकुमार यादव, स्याङ्जा वालिङ–८ का जहरुदिन तेली र सर्लाहीको वाग्मती– ८ सोल्टीबजारका श्यामकुमार श्रेष्ठविरुद्ध मुद्दा दायर गरिएको हो।
मिश्रले सेवाग्राहीसित २ लाख र प्रहरी जवान यादवले १५ हजार रुपैयाँ घूस लिएको तथा तेली र श्रेष्ठले प्रहरीलाई घूस खुवाएको अभियोगमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ।aaa
प्रकाशित मिति: २४ पुस २०७६, बिहिबार