अर्बौं ठग्ने मिटर ब्याजी राय पक्राउ : रौनियार भागेर पुगे भारतको सीतामढी


 


सर्लाही, पुस २४
प्रहरीले सर्वसाधारणलाई चरम ठगी गर्दै आइरहेका सर्लाहीका दुई जना मिटर ब्याजी साहुकारमध्ये बरहथवा नगरपालिका–१० सीतापुरका रामबाबु रायलाई पक्राउ गरेको छ । पक्राउ परेका राय राष्ट्रिय जनता पार्टीका केन्द्रीय सदस्य हुन् । अर्का मिटर ब्याजी सोनवर्षाका सञ्जय शाह रौनियार भने फरार छन् । ठगी काण्ड सार्वजनिक हुँदै गर्दा मिटर ब्याजी रौनियार भने भागेर भारतको सीतामढी पुगेका छन् ।

पक्राउ परेका राय र फरार रौनियार तथा उनीहरूको परिवारको नाममा तराईका विभिन्न जिल्लामा रहेका सबै सम्पत्ति रोक्का गरिएको छ । गृह मन्त्रालयले बुधबार जिल्ला प्रशासन कार्यालयमार्फत तराईका सबै मालपोत कार्यालमा उनीहरूको नाममा रहेको जग्गा रोक्का गर्न निर्देशन दिएको हो । उनीहरूको बैंक खातासमेत रोक्का गरिएको छ । फरार रौनियारसँग नेपाल र भारत दुवै देशको नागरिकता रहेको बताइएको छ । फरार रौनियारको भारतको सीमावर्ती क्षेत्र सोनवर्षा बजारमाा ‘साडी संसार’ कपडाको पसल छ भने भारतकै सीतामडीमा आशीवार्द होटल एन्ड लज छ ।

बरहथवाबाट मलंगवा जाँदै गरेका रायलाई भने बुधबार दिउँसो हरिपुर बजारबाट प्रहरीले पक्राउ गरेको हो । साहुकार रायलाई सर्लाहीलगायत तराईका विभिन्न जिल्लाका सर्वसाधारणलाई मिटर ब्याजमा चर्को ऋण लगानी गरेर उठीबास लगाएको उजुरीका आधारमा पक्राउ गरिएको सर्लाहीका प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठोरले जानकारी दिए । पक्राउ परेका रायलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीको हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक विश्वमणि थापाले जानकारी दिए ।

साहुकार रायले ऋण लगानी गर्दा चर्को मिटर ब्याज लिने र ऋणीको नाममा रहेको जग्गा आफ्नो नाममा दृष्टिबन्धक गर्ने गरेको स्थानीयको दाबी छ । तर, उनले ऋण लगानी गर्दा आफूले गाउँघरका कुनै पनि ऋणीलाई चलनचल्तीभन्दा बढी ब्याज नलिएको दाबी गरेका छन् । ‘मैले गाउँघरमा कुनै पनि ऋणीलाई मिटर ब्याजमा ऋण लगानी गरेको छैन, म राजनीति गर्ने भएकाले गरिब दुःखीलाई सहयोग गरेको छु, मलाई राजनीतिक प्रतिशोधले बदनाम गराउन केही मानिसले यस्तो आरोप लगाएका हुन्,’ रायले भने ।

पुख्र्याैली घर सर्लाहीको बिनग्राका राय हाल बरहथवा नगरपालिका–१० सीतापुरमा परिवारसहित बस्दै आएका छन् । पुख्र्याैली जमिनदार रायका बाबु जर्गनाथ रायले पनि गाउँघरमा ऋण लगानी गर्ने गरेको स्थानीय विद्यानन्द रायको भनाइ छ । रायको परिवारले २०२८ सालमा बाबुको नाममा जर्गनाथ लक्षिया मावि स्थापना गरेका थिए । २०४९ सालको निर्वाचनमा नेपाली कांग्रेसबाट क्षेत्रीय सदस्यमा निर्वाचित रायले २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा तमलोपाबाट सर्लाही क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिएका थिए । तमलोपामा रहेर सक्रिय राजनीति गरिरहेका उनले स्थानीय तह निर्वाचनमा बरहथवा नगरपालिकामा राजपाका तर्फबाट मेयरका लागि उम्मेदवारी दिएका थिए । राजपा नेता महन्थ ठाकुर नजिक मानिने राय अहिले राजपाका केन्दीय सदस्य छन् ।

यसैगरी, अर्का मिटर ब्याजी सर्लाही ब्रह्मपुरीका सञ्जय रौनियारमाथि पनि स्थानीयलाई मिटर ब्याजमा ऋण लगानी गर्ने गरेको आरोप लागेको छ । रौनियारले सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सालगायतका जिल्लाका सर्वसाधारणलाई ऋण लगानी गर्ने गरेको बताइएको छ । रौनियारले ऋणीसँग मिटर ब्याज उठाउने गरेको उजुरी प्रहरीमा परेपछि पक्राउ पर्ने डरले उनी बेपत्ता भएका छन् ।

सेटिङमा ऋण लगानी

मिटर ब्याजी सञ्जयकुमार रौनियारले सेटिङमा ऋण लगानी गर्ने गरेको बताइएको छ । उनले सर्लाहीसहित विभिन्न जिल्लाका लेखापढी व्यवसायीलाई कमिसन दिएर ऋण लगानी गर्ने गरेको पाइएको छ । सर्लाही जिल्लाका हरेक पालिकामा रौनियारले लेखापढी व्यवसायी राखी ऋण लिने मानिसको खोजी कार्य गर्ने गर्छन् । ऋणी पाएपछि ३६ प्रतिशतमा लगानी गर्ने गर्छन् ।

मिटर ब्याजीले ऋणीहरूका लागि बनाएका नियम :

ऋणीहरूले ऋण लिन सर्वप्रथम जग्गा जमिन कति छ हेर्ने काम हुन्छ । २० लाख रुपैयाँमा ऋण लिन ८० लाखको तमसुक कागज बनाउनुपर्ने नियम बनाइएको छ । लेखापढी व्यवसायीको माध्यमबाट जग्गा निरीक्षण गरी ऋण लिने ऋणीको जग्गा मिटर ब्याजी साहुकारको नाममा पास भएपछि चेक काटेर ऋण प्रदान गरिन्छ । कुनै ऋणीले एक महिनाका लागि ऋण लिँदा पनि उसले जग्गा पास गर्नुपर्छ र एक महिनामा फर्काए पनि ऋणीले तीन महिनाको ब्याज तिर्नुपर्ने नियम छ । सबैभन्दा बढी ऋण लगानी महोत्तरीको बर्दिबास, जलेश्वर, गौशालामा हुने गरेको र सर्लाही, रौतहटलगायतका जिल्लामा न्यून मात्रामा हुने गरेको मिटर ब्याजी रौनियारले राखेका एक जना लेखापढी व्यवसायीले बताएका छन् ।

करोडौं रकम ऋणमा प्रवाह

मिटर ब्याजी सञ्जयकुमार रौनियारले ५ करोड रुपैयाँसम्म लगानी गर्ने गरेको स्थानीयले बताए । हरिपुर्वा नगरपालिकाका एक स्थानीयले ४५ लाख ऋण लिँदा १ करोड ५० लाख रुपैयाँ मूल्यबराबरको जग्गा साहुकार रौनियारको नाममा पास गरेको बताए ।

‘बैंकमा सहज रूपमा ऋण पाइँदैन, आफूहरू बाध्य भएर रौनियारसँग ऋण लिएको हुँ,’ नाम नबताउने सर्तमा उनले भने । त्यस्तै, चन्द्रनगर गाउँपालिका वडा नं. २ बस्ने लक्ष्मी पुवैले आठ वर्षपहिले साहुकारसँग ऋण लिएका थिए । ‘चार वर्ष बितेपछि सावाँ र ब्याज गरी जम्मा १० लाख तिर्न जाँदा साहुकारले पैसा लिएन । हुँदा हुँदा आठ वर्षमा ४ लाख सावाको ७२ लाख पुगेको रहेछ,’ पुर्वेले दुखेसो गरे, ‘आफूले १ करोडभन्दा बढी मूल्यको जग्गा साहुकारको नाममा पास गरेको थिएँ । अब सबै जग्गा जाने भयो ।’

भागेर भारत पुगेका सञ्जय रौनियार को हुन् ?

ब्रह्मपुरी गाउँपालिकास्थित त्रिभुवनगर बस्ने रौनियारको भारतको सीमावर्ती क्षेत्र सोनवर्षा बजारमा साडी संसार कपडाको पसल छ । भारतकै सीतामढीमा आशीर्वाद होटल एन्ड लज छ । रौनियारको भारतीय र नेपाली नागरिकता रहेको स्थानीयले बताएका छन् । सञ्जय रौनियारको भारत र नेपाल दुई ठाउँमै अथाह जग्गा जमिन छ । नेपालका सर्लाही, मोहतरी र रौतहटका प्रायः गाउँमा ऋण लिएका मानिसको सयौं बिघा जग्गाजमिन रौनियारकै नाममा छ । मिटर ब्याजी रौनियार प्रतिनिधिसभा सदस्यका लागि नयाँ शक्ति पार्टीबाट क्षेत्र नं. २ का उम्मेदवार थिए । रौनियारले साडी संसार कपडा पसलबाटै करोडौं लगानी गर्ने गरेको जनाइएको छ । राजधानी दैनिकबाट

प्रकाशित मिति: २४ पुस २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्