संदिग्ध इरानी नागरिक विमानस्थलबाटै फिर्ता


 


काठमाडाैँ, पुस २३
संयुक्त राज्य अमेरिकाबाट जारी भएको राहदानी बोकेर नेपाल प्रवेश गरेका एक संदिग्ध इरानीलाई अध्यागमन विभागले पक्राउ गरी फिर्ता पठाएको छ । अमेरिकाले रिचर्ड जोसेफ लिन्डेकरका नाममा जारी गरेको ५९४२२३५३२ नम्बरको राहदानी बोकेर इरानी नागरिक हसन गोल्कर रिजी मलेसिया हुँदै मालिन्दो एयरलाइन्सबाट गत शनिबार काठमाडौं ओर्लिएका थिए ।

उनलाई साधारण सोधपुछ गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले मलेसिया नै फिर्ता पठाएको हो । गैरकानुनी रूपमा प्रयोग गरेको अमेरिकी राहदानी पनि अध्यागमनले जफत नगरी उनैलाई फिर्ता दिएको छ ।

इरानी विशेष फौज (कुड्स) का सैन्य कमान्डर मेजर जनरल कासिम सुलेमानी शुक्रबार अमेरिकी ड्रोन आक्रमणमा मारिएको भोलिपल्ट इरानी नागरिक हसन अमेरिकी पासपोर्ट बोकेर नेपाल आएका थिए । उनले बोकेको राहदानी ‘स्टोलन एन्ड लस्ट ट्राभल डकुमेन्ट’ (एसएलटीडी) सुविधाअन्तर्गत बनाइएको थियो । एसएलटीडीको विवरण विश्वका प्रहरीको साझा संस्था इन्टरपोलमा समेत दिइएको हुन्छ । एसएलटीडी कुनै मुलुकका व्यक्ति यात्रामा निस्कँदा राहदानी हराए वा चोरी भएमा अर्को व्यवस्था नभएसम्म सम्बन्धित देशकै कूटनीतिक नियोगले आफ्ना नागरिकका लागि जारी गरिन्छ ।

‘अमेरिकी राहदानी भएपछि हामीले अंग्रेजीमै प्रश्न सोध्यौं, तर त्यति राम्रो नबोलेपछि शंका लागेर अनुसन्धान गर्दा उनी गैरकानुनी रूपमा भित्रिएको पाइयो,’ अध्यागमनका एक अधिकारीले भने, ‘एसएलटीडी राहदानी त यदाकदा मात्रै प्रयोग हुन्छ, इन्टरपोलसँग समन्वय गर्दा त्यो अमेरिकी व्यक्तिका नाममा जारी भएको देखियो ।’ विमानस्थलका प्रमुख अध्यागमन अधिकृत दीर्घनारायण पौडेलले इरानीलाई नियन्त्रणमा लिएर सोधपुछपछि मलेसिया फर्काइएको पुष्टि गरे । ‘अरूको राहदानीमा भित्रिएका तथा गैरकानुनी रूपमा प्रवेश गर्ने विदेशीलाई विमानस्थलबाटै फिर्ता पठाउने कानुनी व्यवस्थाअनुसार नै उनलाई मलेसिया फिर्ता (इन्ट्री रिफ्युज) गरिएको हो,’ उनले भने, ‘पक्राउपछिका झमेला बेहोर्नुभन्दा जुन बाटो आएका हुन्, उतै पठाउँदा उचित ठान्यौं ।’

विमानस्थलमा उनको भाषा नबुझेपछि कर्मचारीले कुनामा बोलाएर सोधखोज गरे । उनले राहदानी आफ्नै भएको दाबी गरेपछि अध्यागमनले इन्टरपोलसँग समन्वय गर्‍यो । त्यसपछि उनले आफू अमेरिकी नागरिकको राहदानीमा नेपाल आएको स्विकारे । ‘मैले टर्कीमा अमेरिकी नागरिकबाट ४ हजार डलरमा राहदानी किनेको हुँ,’ उनको भनाइ उद्धृत गर्दै अध्यागमनका अधिकारीले भने, ‘अमेरिकीलाई सजिलै भिसा दिने भएर मैले पनि प्रयोग गरेको हुँ ।’ इरानीलाई नेपालको अध्यागमनले अनअराइभल भिसा दिँदैन । इरानलगायत डेढ दर्जन मुलुकका नागरिकले आफ्नै देशबाट नेपालको भिसा लगाएर आउनुपर्छ ।

अमेरिकी दूतावासको चासो
अमेरिकाको ड्रोन आक्रमणमा इरानी विशेष फौजका सैन्य कमान्डर सुलेमानी शुक्रबार मारिएपछि नेपालस्थित अमेरिकी राजदूतावासले सुरक्षा संवेदनशीलताबारे सरकारको ध्यानाकर्षण गराएको छ । कान्तिपुर दैनिकबाट

प्रकाशित मिति: २३ पुस २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्