अब सवारी साधनमा ‘नो हर्न प्लिज’


 


काठमाडौं, भदाैं २३

सार्वजनिक सवारीसाधनको पछिल्लो भागमा ‘हर्न प्लिज’ लेखिएको प्राय धेरै गाडीमा देख्न पाइन्छ । तर, अब भने हर्न बजाउने होइन, नबजाउने अभियान सुरु हुने भएको छ । रोटरी क्लब बानेश्वरले आगामी शनिबारदेखि अभियान सुरु गर्दैछ ।

राजधानीमा १ हजार ५ सय ९४ किलोमिटर सडकमा झण्डै साढे १० लाख गाडी गुड्छन् । तीमध्ये करिब ४ लाख सार्वजनिक यातायातका बस, ट्रक, मिनीट्रक, मिनीबस, माइक्रो, जिप, ट्याक्सी र टेम्पो छन् । सार्वजनिक यातायातका साधनमा हर्न प्लिज लेखिएको हुन्छ ।

जसले ध्वनि प्रदूषण बढाएको भन्दै त्यसलाई कम गर्न अभिायन सुरु गर्न लागेको क्लबका अध्यक्ष विष्णुबहादुर कार्कीले बताए । शनिबार बिहान राजधानीको माइतीघर मण्डलाबाट अभियान सुरु हुनेछ । करिब एक हजारको संख्यामा क्लबका सदस्य, विद्यार्थी र संघसंस्थाका प्रतिनिधि अभियानमा सहभागी हुनेछन् ।

माइतीघर बण्डलाबाट बबरमहल, बिजुलीबजार, नयाँबानेश्वर, मिनभवन, तीनकुने हुँदै अभियानको पैदलयात्रा पुनः माइतीघर मण्डलामा आएर टुंगिनेछ । ‘नो हर्न’ लेखिएका करिब १ हजार टिसर्ट र १ हजार स्टिकर अभियानमा वितरण गरिने क्लबका पब्लिक रिलेसन कमिटी प्रमुख मनोजकुमार ढकालले जानकारी दिए ।

तीनवटा ठूला ब्यानरमा मौन रूपमा पैदल हिँडेर अभियानको सुरु गर्दै ध्वनि प्रदूषण न्यूनीकरणका लागि अभियानकर्ताले राजधानीवासीको साथको अपेक्षा गरेका छन् । ‘चालकहरूले अनावश्यक रूपमा हर्न बजाएर ध्वनि प्रदूषण बढाएका छन्, हामी त्यसलाई कम गर्न अभियानको तयारीमा जुटेका हौं’, क्लबका अध्यक्ष कार्कीले भने । अभियानमा नबिल बैंक, एनएमबि बैंक, आइएमएस ग्रुप, नेशनल पोलो प्लस, क्लासिक डाइमण्ड, रोटरी क्लब बालाजु, स्फाल्स नेपालसमेत सहभागी भएका छन् ।

स्फाल्स नेपालकी सामाजिक व्यापार अधिकृत उरुषा थापाले अभियानले छिट्टै गति लिने र राजधानीवासीले ध्वनि प्रदूषणको समस्याबाट मुक्त हुने बताइन् । अभियानमा स्फाल्सले केही आर्थिक सहयोग गरेको छ । उक्त सहयोग रकमबाट दुर्गमका सरकारी विद्यालयमा प्रशोधित पिउने पानी उपलब्ध गराउने क्लबका पब्लिक रिलेसन प्रमुख ढकालको भनाइ छ ।

अभियान ट्राफिक प्रहरीले सञ्चालन गर्नुपर्ने हो । तर, ट्राफिक प्रहरीले गाडीमा जडित ठूलो आवाज आउने हर्नहरू हटाउने काम मात्र गर्दै आएको छ । ट्राफिकको नजरमा परेका सवारीसाधनका ठूला हर्न हटाउने काम गर्दै आएको ट्राफिक प्रहरी यो अभियानमा खुलेर सहयोग गर्न तत्पर देखिएको छ । एक ट्राफिक प्रहरी अधिकृत भन्छन्, ‘यो अभियान ट्राफिक प्रहरीले चलाउनुपर्ने हो, तर क्लबले सुरु गर्न लागेको छ, हामी यसमा पूर्ण सहयोग गर्न तत्पर छौं ।’

राजधानीदेखि देशभरका अस्पताल, विद्यालय, आवासीय क्षेत्र, धार्मिक क्षेत्रमा ध्वनि प्रदूषणले समस्या भइरहेको छ । त्यसलाई कम गर्न सरोकारवाला निकायले चासो नदेखाएपछि रोटरी क्लबले ध्यान दिएको त्यसमा आबद्ध सदस्यहरूको भनाइ छ ।

प्रकाशित मिति: २३ भाद्र २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्