आजदेखि मौसममा सुधार


 


काठमाडौँ, पुस २०
मुलुकको मौसममा आइतबारदेखि सुधार आउने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेलले शनिबार पश्चिम भाग हुँदै मौसममा सुधार आउन थालेको बताए ।

‘तराईको सबैजसो भागमा वर्षा रोकिएको छ,’ उनले भने, ‘पहाडी भागमा पनि आइतबारदेखि मौसममा शनिबारभन्दा सुधार हुने हाम्रो अनुमान छ ।’ पश्चिम भाग हुँदै प्रवेश भएको न्यून चापीय प्रणालीका कारण बिहीबारदेखि मौसममा बदलाव आएको थियो ।

शुक्रबार र शनिबार मुलुकका धेरै भागमा वर्षा भयो भने उच्च पहाडी र हिमाली भागमा भारी हिमपात भएको छ । काठमाडौं वरपरका डाँडामा पनि हिमपात भएको छ । बिहीबारदेखि शनिबारसम्म वर्षा भएको महाशाखाको रेकर्ड छ ।

प्रकाशित मिति: २० पुस २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्