कांग्रेसमा किचलो कायमै, केन्द्रीय बैठकसमेत बहिस्कार गर्ने पौडेल पक्षको तयारी
काठमाडौं, पुस १६
कांग्रेसमा संस्थापनइतर खेमाले पुस १७ को केन्द्रीय कार्यसमिति बैठकसमेत बहिष्कार गर्ने भएको छ । सभापति शेरबहादुर देउवाले गत शुक्रबार एकपक्षीय निर्णय गरेको जनाउँदै वरिष्ठ नेता रामचन्द्र पौडेलले त्यसलाई नसच्याएसम्म बैठकमा सहभागिता नजनाउने निर्णय भएको बताए । स
स्थापनइतरको बहिष्कारकै बीच बसेको केन्द्रीय कार्यसमिति बैठकले तल्ला तहदेखि केन्द्रीय महाधिवेशनसम्मको कार्यतालिका ल्याउनुका साथै कार्यसमितिको कार्यकाल बढाउने, पार्टीको क्रियाशील सदस्यतासँग सम्बन्धित विधानका दफा निलम्बन गर्ने, पार्टीका विभागको संख्या बढाउने र कार्यकाल सकिएको तरुण दलको म्याद बढाउने निर्णय गरेको थियो ।
यी सबै निर्णय आगामी महाधिवेशनलाई प्रभावित पार्न भएको ठहर गर्दै मंगलबार केन्द्रीय कार्यालयमा बसेको पौडेल समूहको बैठकले निर्णय सच्याउनुपर्ने बटमलाइन अघि सारेको हो । पौडेल पक्षको बैठक यसअघि नेताहरूको निवासमा हुँदै आएको थियो ।
त्यसले गलत सन्देश जान थालेको भन्दै मंगलबारदेखि पार्टी केन्द्रीय कार्यालयबाटै गतिविधि सुरु गर्ने उक्त समूहको निर्णय छ । ‘निर्णय सच्चिनुपर्छ, नसच्चिएसम्म देशभर संवादमा जान्छौं, नेता–कार्यकर्ता, बुद्धिजीवी र शुभेच्छुकहरूसँग अन्तर्क्रिया गर्छौं,’ पौडेलले भने ।
सभापति देउवा बहुमतबाट अघि बढ्न खोजेपछि संस्थापनइतर खेमाले आफ्नो पक्षका जिल्ला सभापतिसँग समेत छलफल गर्ने भएको छ । त्यसका लागि उनीहरूलाई पुस २१ गते केन्द्रीय कार्यालयमा बोलाइएको छ । कान्तिपुरमा खबर छ ।
प्रकाशित मिति: १६ पुस २०७६, बुधबार