बाख्राको दूध प्रतिलिटर हजार रुपैयाँ, यी किसानलाई मालामाल


 



झापा, पुस १५
झापाका एकजना बाख्रापालक किसानले बाख्राको दूध बेचेर मनग्य आम्दानी गरेका छन् । बिर्तामोड नगरपालिका–३ स्थित शिव कृषि फार्मका सञ्चालकले बाख्राको दूधलाई आम्दानीको स्रोत बनाएका हुन् ।

फार्मका सञ्चालक दिनेश ओझाले एक महिनामा करिब १० हजार रुपैयाँको बाख्राको दूध बिक्री गरेका छन् । डेंगु रोग लागेका बिरामीका लागि भन्दै मानिस बाख्राको दूध लिन उनको फार्ममै पुग्ने गरेका छन् । ‘धेरैजना बाख्राको दूध खोज्दै आउनुहुन्छ,’ ओझाले भने, ‘दूध दिएवापत एकजना बिरामीबाट एक हजार रुपैयाँ लिने गरेका छौं, एकजना बिरामीले पाँच पटकसम्मको डोज माग गर्ने गरेका छन् ।’

एक डोजमा २ सय मिलिलिटर दूध दिने गरेको ओझा बताउँछन् । जसको मूल्य २ सय रुपैयाँ पर्ने उनले बताए । त्यसलाई हिसाब गर्दा बाख्राको दूध प्रतिलिटर एक हजार रुपैयाँ पर्न जान्छ । फार्ममा उन्नत र स्थानीय जातका ५९ वटा बाख्रा छन् । त्यसमध्ये ३० वटा माउले दूध दिन्छन् । गाईपालन र माछापालन समेत गरेका ओझाले मासुका लागि बाख्रा पालेका थिए ।

मासुको प्रयोजनले बाख्रा पालन गरे पनि दूधसमेत बेच्दा राम्रो कमाइ हुँदोरहेछ, दोहोरो फाइदा भयो । कतिपय चिनेजानेकालाई औषधिको रूपमा सित्तैमा दूध दिएको उनले बताए । आफ्नो छोरीलाई डेंगु रोग लाग्दा बिर्तामोड–३ सैनिकमोडका साउनिया राजवंशीले गाउँबाट खोजेर बाख्राको दूध खुवाएका थिए । डेंगु लाग्दा बाख्राको दूध खुवाउनु पर्छ भनेर अरुले भनेको र त्यही सुनेर आफूले पनि खोजेर बाख्राको दूध खुवाएको उनले बताए ।

तर चिकित्सकले डेंगु लागेका बिरामीलाई बाख्राको दूध खुवाउनै पर्ने अनिवार्य नभएको बताएका छन् । बिर्तासिटी हस्पिटलका मेडिकल सुपरिटेन्डेन्ट अनिलकुमार बस्नेतले आफूले कसैलाई पनि बाख्राको दूध प्रेस्क्राइब नगरेको बताए । कारोबारमा खबर छ ।

प्रकाशित मिति: १५ पुस २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्