बर्षमा १४ हजारले बढ्यो सुनको मूल्य


 


काठमाडौं, पुष १५
नेपाली बजारमा सुनको मूल्यमा एक वर्षमा करिब १३ हजार आठ सय रुपियाँले मूल्य वृद्धि भएको छ । सोमबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ७३ हजार तीन सय रुपियाँमा कारोबार भएको छ ।

त्यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ७३ हजार रुपियाँ पुगेको छ । अघिल्लो वर्ष २०७५ पुस १४ गते सुनको मूल्य प्रतितोला ५९ हजार पाँच सय रुपियाँ थियो । उक्त महिनामा यसको अधिकतम मूल्य ६० हजार सात सय रुपियाँ कायम भएको थियो । गत असोजमा सुनको मूल्य बढेर ७३ हजार पाँच सय रुपियाँसम्म पुगेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका पूर्वअध्यक्ष तेजरत्न शाक्य भन्नुहुन्छ, अबको केही दिनमा नयाँ रेकर्ड बनाउने सङ्केत देखापरेको छ । सुनको मूल्य आश्चर्यजनक रूपमा वृद्धि हुनेमा आन्तरिक कारण मात्र चाँहि होइन । अन्तर्राष्ट्रिय बजारमा नै सुनको मूल्यमा वृद्धि भएको छ ।

अघिल्लो वर्ष यसै अवधिमा यसको मूल्य प्रतिऔँस करिब एक हजार दुई सय अमेरिकी डलर कायम भएको थियो । सोमबार भने एक हजार ५१२ डलरभन्दा बढीमा पुगेको छ । सुनसँगै नेपाली बजारमा डलरको मूल्यमा भएको वृद्धिका कारण पनि नेपालमा अधिक मूल्य वृद्धि हुन पुगेको हो । नेपाली बजारमा अमेरिकी डलर ११४.४८ रुपियाँमा बिक्री भएको छ ।

प्रकाशित मिति: १५ पुस २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्