आज तमु ल्होसार, कहाँ–कहाँ छ सार्वजनिक विदा?


 


काठमाडौं, पुष १५
प्रत्येक वर्ष पुस १५ गते गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर ‘तमु ल्होसार’ पर्व मनाउँछन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समुदायको विश्वास छ । यसवर्ष पुस १४ गते राति १२ बजे मृग वर्षलाई बिदाइ गरी मुसा वर्षलाई स्वागत गरिने तमु ल्होसार मूलआयोजक समितिका अध्यक्ष टेकबहादुर गुरुङले बताए ।

परापूर्वकालमा गुरुङ समुदायले वर्षलाई गन्न १२ जनावरको नामबाट नयाँ वर्षको नामाकरण गरेका हुन् । मुसापछि गाई, बाघ, बिरालो, सुगा, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र मृग गरी १२ जनावरका नामबाट वर्षको नामाकरण गरिएको हो । यसवर्ष तमु ल्होसारका अवसरमा आइतबारदेखि तीन दिनसम्म गुरुङ समुदायको सांस्कृतिक परम्परामा आधारित लोकदोहोरी गीत प्रतियोगिता आयोजना गरिएको समितिका महासचिव सूर्यबहादुर गुरुङले जानकारी दिए ।

प्रतियोगिताको अन्तिमचरणको कार्यक्रम मङ्गलबार गरिने जनाइएको छ । जसका कारण आइतबारदेखि नै टुँडिखेलमा गुरुङ समुदायको रमझम छ । तमु ल्होसारका अवसरमा १५० भन्दा बढी कक्ष राखिएका छन्। जहाँ गुरुङ समुदायका मौलिक पहिचानका चीजबीज एवं वेषभूषा र खानाको प्रदर्शनीसहित बिक्री वितरण भइरहेको छ।

आज अपरान्ह १ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले तमु ल्होसार मूलसमारोहद्वारा टुँडिखेलमा आयोजना हुने कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम रहेको आयोजक समितिले जनाएको छ। यसैगरी कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराई, महिला, बालबालिका, समाजकल्याण तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङलगायतले पनि सम्बोधन गर्नेछन्।

कहाँ–कहाँ छ सार्वजनिक विदा?

यसअघि सरकारले तमु ल्होसारकमा अवसरमा देशैभर सार्वजनिक दिने गरेको थियो । तर, सरकारले विदा कटौटी गर्दै यस वर्षमा गुरुङ समुदायलाई मात्रै विदा दिइएको छ । तमु ल्होसारको अवसरमा पुस १५ गते गण्डकी प्रदेश सरकारले सार्वजनिक दिएको छ ।

सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाले पुष १५ देखि १७ सम्म गाउँपालिकाभित्रका सरकारी कार्यालय र शिक्षण संस्थामा विदा दिएको छ । त्यहाँ मनाइने चाक्चाकुर पर्वका लागि तीन दिन सार्वजनिक विदा दिने निर्णय गाउँपालिकाले गरेको हो ।

प्रकाशित मिति: १५ पुस २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्