‘काल्पनिक कुराले निजगढ विमानस्थलमा अवरोध’


 


काठमाडौं, पुस १४
वातावरणसँग सम्बन्धित काल्पनिक कुरा गरेर निजगढमा अन्तर्राष्ट्रिय विमानस्थलमा अवरोध ल्याउन खोजिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले स्पष्ट पारेका छन् । आइतबार गोरखापत्रको साप्ताहिक संवाद कार्यक्रममा उनले कपोलकल्पित कुरा गरेर यो योजनाको विषयमा अफवाह फैलाउने काम भइरहेको बताएका हुन् । विकासको काम गर्दा केही विनाश हुन्छ, उनले भने, ‘अति कम वातावरणीय क्षतिसहित निजगढ बनाउनुपर्छ भन्नेमा सरकार सचेत छ ।’

वातावरण संरक्षणमा सरकार निकै गम्भीर रहेको पनि उनले स्पष्ट पारे । जलवायु परिवर्तनबारे विश्वकै ध्यान आकर्षित गर्ने कालापत्थर बैठकदेखि गैँडाको जिरो पोचिङको अवस्थासम्म पुर्याउने काम सरकारकै कारण भएको हो, उनले भने । निजगढमा विमानस्थल निर्माण गर्दा त्यसबाट हुनसक्ने क्षतिपूर्ति गर्न वैकल्पिक व्यवस्था गरेर मात्र अगाडि बढिने पनि उनले बताए ।

निजगढमा विमानस्थल बनाउनका लागि छुट्याइएको एक हजार ९ सय हेक्टर क्षेत्रफलमा कटानी हुने रुखका बारेमा वन मन्त्रालयसँग छलफल गरेर अगाडि बढिने पनि उनले बताए । रुख कटानीसम्बन्धी प्रस्ताव अहिले मन्त्रिपरिषद्अन्तर्गतको समितिमा छलफलमा रहेकाले त्यसबाट आउने निष्कर्षबाटै निर्माण सुरु हुने उनले जानकारी दिए ।

टर्कीमा विश्वकै ठूलो विमानस्थल बनाउँदा पनि लाखौँ रुख काट्नुपरेको उदाहरण दिँदै नेपालमा भने यसबारे अनेक अफवाह फैलाइएको उनको चासो थियो । चीनमा विश्वकै ठूलो जलविद्युत् परियोजना बनाउँदा पनि वातावरणीय क्षति भयो तर त्यहाँ यसरी कुरा आएन, उनले भने । विकास र विनाशसँगै हुने भएकाले त्यसको क्षति न्यूनिकरणमा सरकारले ध्यान पुर्‍याउने उनले बताए । यो समाचार आजको गोरखापत्र दैनिकबाट लिइएको हो ।

प्रकाशित मिति: १४ पुस २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्