स्थानीय तहको सर्भर ह्याक भएर नष्ट भएको तथ्यांक आजबाट देखिने


 


काठमाडौं, पुस १४
देशभरका ७५३ वटै स्थानीय तहको ह्याक भएको सर्भर रिकभर भएको छ । महालेखा नियन्त्रकको कार्यालयको नियन्त्रणमा रहेको स्थानीय तहको उक्त लेखाप्रणालीका सबै तथ्याङ्कहरु रिकभर भएको महालेखाले जनाएको छ । सर्भर ह्याक हुँदा लेखा प्रणाली नष्ट भएको थियो ।

महालेखा नियन्त्रकको कार्यालयले सबै स्थानीय तहको लेखाप्रणाली व्यवस्थित गर्ने सफ्टवेर ‘स्थानीय कोष व्यवस्थापन प्रणाली’ (सूत्र) ह्याक भएकोमा अहिले सबै तथ्याङ्कहरु रिकभर गर्न सफल भएको जनाएको छ । सह–महालेखा नियन्त्रक रमेश प्रसाद शिवाकोटीले पुस ४ गते उक्त सफ्टवेर ह्याक भएको र अहिले प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिए । उनले मंसिर ११ गते देखि पुष ४ गतेसम्मको सबै तथ्याङ्कहरु नष्ट भएकोमा गत शुक्रबार रिकभर गर्न सफल भएको बताए ।

उनले स्थानीय तहको ३९ हजार भौचर नष्ट भएकोमा १७ हजार भौचर पुनः प्रवृष्टि गरिएको बताउँदै अहिले सबै तथ्याङ्क रिकभर भएपछि सोमबारदेखि सबै स्थानीय तहको हराएको भौचर सिस्टममा देखाउने बताए ।उनले सफ्टवेर ह्याक भएको प्रारम्भिक अनुसन्धानले पुष्टि गरिसकेको र कसले कहाँबाट ह्याक गर्‍यो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको समेत जानकारी दिए ।

२०७६ वैशाख २३ गतेको मन्त्रीपरिषद् बैठकको निर्णयपछि सार्वजनिक खर्च तथा वित्तीय उत्तरदायित्व (पेफा)ले २०७५र०७६ बाट स्थानीय तहको बजेट, राजश्व र लेखाङ्कनको व्यवस्थापन गर्ने सफ्टवेर ‘सुत्र’ कार्यान्वयनमा ल्याएको थियो ।

प्रकाशित मिति: १४ पुस २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्