बलात्कार मुद्दामा बयान फेर्दा कानुनको कठघरामा


 


दाङ, पुस १४
– तुलसीपुरकी सिम्रन(नाम परिवर्तन) ले आफूमाथि एक किशोरले बलात्कार गरेको भन्दै गत असार १६ गते जिल्ला अदालतमा मुद्दा हालिन्। २०७४ जेठ २६ गतेदेखि २०७५ चैतसम्म आफूलाई पटकपटक बलात्कार गरेको भन्दै उनले अदालतसमक्ष न्यायको माग गरिन्। सोही मुद्दाका आधारमा आरोपित किशोरलाई प्रहरीले नियन्त्रणमा लियो। असार १६ गते अदालतमा परेको उक्त मुद्दा असोज ८ गतेसम्म चल्यो। तर बिडम्बना पीडित भनिएकी सिम्रनले आफैंले १५ दिन जेल बस्नुप-यो। कारण, उनले ती किशोर निर्दोष रहेको भन्दै अदालतमा बयान फेरेकी थिइन्। यो मुद्दामा बलात्कारको मुद्दा लागेका ती किशोरले सफाइ पाए।

गत असोज ८ गते जिल्ला अदालतले गरेको फैसलाअनुसार बलात्कार आरोप लगाउने सिम्रनले १५ दिन कैद भुक्तानसँगै पाँच सय रुपैयाँ जरिवाना तिर्नुपर्ने मात्र भएन आरोपित किशोरलाई १५ हजार रुपैयाँ क्षतिपूर्तिसमेत दिनुप¥यो। ‘झूटा बयान दिएपछि अदालतले उनलाई सजाय सुनाएको हो,’ जिल्ला अदालत मुद्दा फाँटकी एक कर्मचारीले फैसलाबारे जानकारी दिँदै भनिन्, ‘किशोरीले सुरुमा बलात्कार भएको भनेर बयान दिइन् तर पछि झूटो बोलेको भन्दै बयान फेरिन्।’

अदालतका अनुसार सुरुमा किशोरलाई बलात्कारीको आरोप लगाएकी सिम्रनले पछि बयान फेर्दै ती किशोर आफ्नो प्रेमी रहेको बताएकी थिइन्। उनले घरपरिवारको दबाबमा बलात्कार मुद्दा हाल्न बाध्य भएको अदालतसामु बयान दिएकी थिइन्। ‘उहाँ (किशोर) ले बलात्कार गर्नुभएको होइन, उहाँ मेरा प्रेमी हुनुहुन्छ,’ सिम्रनले बोली फेर्दै दिएको बयानमा उल्लेख छ, ‘हाम्रो उठबस गाउँका महिलाहरूले पनि थाहा पाएका थिए अनि मेरी आमालाई ती महिलाहरूले उकासेर बलात्कारको मुद्दा हाल्न दबाब दिएका थिए।’

मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ४४ को उपदफा २ ले बलात्कार मुद्दामा पीडितले अदालतसमक्ष बयान फेरेको ठहरिए उनै पीडित भनिएकाहरूमाथि नै सजायको व्यवस्था गरेको छ। सुरुमा बलात्कार गरेको भनेर आरोपसहित मुद्दा दर्ता गर्ने तर पछि झूटो बोलेको भन्दै बयान फेर्नेहरूलाई जिल्ला अदालतले कारबाही गर्ने क्रम बढ्न थालेको छ।

मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ४४ को उपदफा २ ले बलात्कार मुद्दामा पीडितले अदालतसमक्ष बयान फेरेको ठहरिए पीडित भनिएकामाथि नै सजायको व्यवस्था गरेको छ।
देउखुरी गढवाकी अर्की एक युवतीले पनि अदालतमा बयान फेरेकै कारण कानुनी कारबाहीको भागीदार बन्नुप-यो। ती युवतीले आफूमाथि २०७६ असार १८ गते बलात्कार भएको भन्दै एक युवकविरुद्ध जिल्ला अदालतमा मुद्दा हालिन्। देउखुरीबाट घुम्न घोराहीस्थित धारापानी मन्दिरमा बोलाएको र सोही दिन घोराहीस्थित आफन्तका घरमा राखेर ती युवकले बलात्कार गरेको जाहेरी दिएकी ती युवतीको यो बयान पनि अडिग बन्न सकेन। गत भदौ २५ गते ती महिलाले अदालतसामु बयान फेरिन्। आवेशमा आएर बलात्कारको झूटो आरोप लगाएको भन्दै अदालतसमक्ष बयान फेरेकी ती युवतीलाई अदालतले उल्टै कारबाही ग¥यो। उनलाई दुई हजार पाँच सय रुपैयाँ जरिवानाको सजाय सुनाइएको थियो। बलात्कार आरोपमा पक्राउ परेका युवा भने बेकसुर साबित भई रिहा भएका थिए।

आफू बलात्कृत भएको भन्दै अदालतमा मुद्दा दर्ता गरेकी बबई गाउँपालिकाकी शर्मिला (नाम परिवर्तन) पनि बयान फेरेकै कारण दोषी ठहर हुनुप¥यो। गत वैशाख ३ गते आफ्नो जन्म दिनका अवसरमा एक युवकले तुलसीपुरमा बोलाएको र तुलसीपुरस्थित होटलमा राखेर आफूलाई बलात्कार गरेको आरोपसहित जिल्ला अदालतमा शर्मिलाले मुद्दा दर्ता गरिन्। ‘जन्मदिनको पार्टी दिने भनेर मलाई तुलसीपुरमा बोलाएको र होटलमा लगेर औषधि खुवाई लट्ठ पारेर बलात्कार गरेको भन्ने उनको सुरुको उजुरी छ,’ मुद्दा फाँटका कर्मचारीले भने, ‘पछि ती युवतीले अदालतमा बयान फेरिन्।’

सुरुमा आफूलाई बलात्कार गरेको भन्दै आरोप लागेका युवकलाई उनै पीडित भनिएकी युवतीले निर्दोष रहेको भन्दै बयान दिएकी थिइन्। उनले आफूले बलात्कारीको आरोप लगाएका युवक आफ्नो प्रेमी रहेको र विवाहका लागि दबाब दिन बलात्कारको आरोप लगाएको बयान दिएकी थिइन्। ‘उनी मेरा प्रेमी हुन् र विवाहका लागि मैले धेरै पटक आग्रह गरें,’ ती युवतीले फेरेको बयान उद्धृत गर्दै अदालतकी कर्मचारीले भनिन्, ‘विवाहका लागि दबाब दिँदा पनि नमानेपछि मैले बलात्कार गरेको भनेर आरोप लगाएकी हुँ, उसले मलाई बलात्कार गरेको छैन भनेर बयान फेरिएको छ।’ अदालतमा फेरेको यही बयानका आधारमा जिल्ला अदालतले बलात्कार आरोपमा पक्राउ परेका युवकलाई निर्दोष प्रमाणित गर्दै अदालतले रिहाको फैसला ग-यो भने बलात्कारको आरोप लगाएकी किशोरीलाई एक हजार रुपैयाँ जरिवाना सुनायो।

किन फेरिन्छ बयान ?
सुरुमा आफू बलात्कृत भएको भनेर अदालतमा मुद्दा दर्ता गर्नेहरूले पछि उनै दोषी भनिएकाहरूलाई निर्दोष भन्दै फेरिने बयानको पहिलो कारण आर्थिक हो। कुनै बलात्कारको घटना अदालतमा दर्ता हुनासाथ पीडितलाई थामथुम पार्ने पहिलो उपाय नै आर्थिक रकम नै निर्विकल्पजस्तै बन्ने गरेको छ। लगातारको बार्गेनिङपछि मोटो रकम दिने सहमतिमा पीडितहरूलाई बयान फेर्न लगाइने गरेका उदाहरण जिल्लामा थुप्रै रहेको जानकारहरू बताउँछन्।

बलात्कारका घटनाबारे अध्ययन गर्दै आएको इन्सेकका अनुसार जिल्लामा २० हजार रुपैयाँदेखि माथि लाखौँ रकमसम्ममा यस्ता घटनाहरू मिलाइएका छन्। ‘अदालतमा पीडितका पक्षबाट फेरिने बयानको पहिलो कारण भनेकै आर्थिक हो, घटना दर्ता हुनासाथ पीडित र पीडक पक्षबीच घटना सामसुम पार्न आर्थिक मोलमोलाइ सुरु हुन्छ,’ इन्सेकका प्रतिनिधि जेएन सागरले भने, ‘अनि दुवै पक्षलाई चित्त बुझ्नेगरी हुने आर्थिक सहमतिमा अदालतमा बयान फेरिन्छ।’

यसरी अदालतमा फेरिने बयानका आधारमा जिल्ला अदालतले पीडित भनिएकी महिला नै दोषी साबित भएको खण्डमा पीडक भनिएका पुरुषलाई निर्दोष साबित गरिदिन्छ भने दोषी साबित हुने पीडितलाई सजाय दिने गर्छ। तर अदालतमा फेरिने बयानका आधारमा सबै पीडकहरूलाई रिहा भने गरिँदैन। बयान फेरिए पनि पीडक आरोप लागेका व्यक्ति दोषी पाइए उनलाई कानुनअनुसारको सजाय अदालतले सुनाउने गर्छ।

यसैगरी पीडितलाई दिइने मानसिक तनावलाई पनि बयान फेरिनुको कारण मानिएको छ। बलात्कृतको पहिचान जोडिने भएकाले पीडित भनिएकी महिलालाई समाजमा घुलमिल भएर बस्न गाह्रो हुने मानसिक तनाव दिने गरिन्छ। समाजमा नांगिने डरले पनि कैयौं पीडितले बयान फेर्ने गरेको इन्सेक प्रतिनिधि सागरले बताए। ‘अविवाहित पीडित छ भने भोलि तेरो बिहे हुन्न, विवाहित छ भने भोली घरबार बिग्रन्छ भन्नेजस्ता मानसिक तनाव पीडितहरूलाई दिन सुरु गरिन्छ,’ इन्सेक प्रतिनिधि जेएनले भने, ‘घटना बाहिर आएर घरबार बिग्रनुभन्दा गुपचुपमै घटना साम्य पारेपछि आफूलाई सजिलो होला भन्ने मानसिकता पीडितहरूमा जान्छ र कतिपय घटनाको बयान अदालतमा पछि फेरिन्छन्।’

बयान फेर्नेहरूले आफूले कुनै न कुनै दबाबमा परेर मात्रै बलात्कारको मुद्दा हाल्न बाध्य भएको बताएका छन्। जिल्ला अदालतका स्रेस्तेदार धनीप्रसाद चपाईंका अनुसार कतिपयले त प्रहरीकै दबाबमा बलात्कारको मुद्दा हाल्न बाध्य हुनुपरेको सम्म बयान दिने गरेका छन्। ‘प्रहरीले बलात्कार गरेको हो भन्ने कागज तयार पारेर त्यसमा जबर्जस्ती सही गर्न लगाएर मुद्दा दर्ता गर्ने गरेको भनेर बयान फेर्नेहरू पछि आएका हुन्छन्,’ स्रेस्तेदार चपाईंले भने, ‘कतिपयले महिला अधिकारका क्षेत्रमा काम गर्नेहरूको बलजफ्ती मुद्दा हालेको भन्छन् कतिपयले परिवारको दबाबमा भनेर बयान फेर्ने गरेका छन्।’ नागरिक दैनिकबाट

प्रकाशित मिति: १४ पुस २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्