असुरक्षित पैदलयात्री, ठक्कर दिँदै भाग्दै सवारी


 


काठमाडौं, पुस १२
मंसिर ७ गते मर्निङ वाकमा निस्किएका सिभिल हस्पिटलका वरिष्ठ चिकित्सक प्रभु जोशीलाई काठमाडौं बानेश्वर क्षेत्रमा बसले ठक्कर दियो। झिसमिसेमै उनलाई ठक्कर दिएर बस भाग्यो। ठक्कर दिएर भागेको बस खोज्न उज्यालो भएपछि आफन्तले महानगरीय प्रहरी वृत्त बानेश्वरमा उजुरी दिए। प्रहरीले जोशीलाई ठक्कर दिएर बेपत्ता भएका भक्तपुर सूर्यविनायकका चालक बुद्धिकुमार कोजूलाई तीन दिनपछि रामेछापबाट बा३ख ६१४ नम्बरको बससहित नियन्त्रणमा लियो।

–कात्तिक १२ गते काठमाडौंकै तीनकुनेमा जेब्राक्रसबाट सडक पार गरिरहेका कोटेश्वरका सुजन केसीलाई ट्रकले ठक्कर दियो। ठक्कर दिएर गम्भीर घाइते भएका उनको केएमसी हस्पिटल सिनामंगलमा लैजाँदै गर्दा मृत्यु भयो। एकाबिहानै बाटो काट्दै गर्दा उनलाई ठक्कर दिएको सवारीसाधन भने बेपत्ता भयो। प्रहरीले हालसम्म केसीलाई ठक्कर दिएको उक्त सवारीसाधन पत्ता लगाउन सकेको छैन।

–यही पुस ८ गते बिहान ५ः४५ बजे गुर्जुधारा चोकमा ट्रकले चन्द्रागिरिका अर्जुनबहादुर केसीलाई ठक्कर दियो। ठक्करबाट प्रदेश ३–०२–००९प ७६२९ नम्बरको मोटरसाइकल चालक केसीको घटनास्थलमै ज्यान गयो। उनी बिहान छोरालाई कलंकीस्थित एलआरआई स्कुलमा पु¥याउन जाँदै थिए। उनलाई ठक्कर दिने सवारीसाधन पनि बेपत्ता भयोे। ठक्कर दिएर भागेको ना८ख ३४२४ नम्बरको ट्रक दुई दिनपछि ललितपुरको चापागाउँमा फेला प¥यो। प्रहरीले चालक रविन पौडेल र ट्रकलाई नियन्त्रणमा लिएर कारबाही अघि बढाएको छ।

‘दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीले मात्रै सक्दैन। सडक प्रयोगकर्ताको पनि साथ र सहयोग चाहिन्छ। सबैले नियम मान्ने हो र सचेत हुने हो भने दुर्घटना कम हुन्छ।’ काठमाडौं उपत्यकाका सडकमा बटुवा अथवा अर्को सवारी साधनलाई ठक्कर दिएर कारबाहीबाट बच्न भाग्ने सवारीचालकका केही दृष्टान्त हुन् यी। दैनिक सरदर एकजनाले सवारी दुर्घटनामा ज्यान गुमाउने उपत्यकामा सबैभन्दा असुरक्षित पैदलयात्रु छन्। तीव्र गतिका सवारीसाधनले बटुवालाई जेब्राक्रसमै ठक्कर दिने क्रम बढेको छ। यही पुस ७ गते सुकेधारा बस्ने २१ वर्षीया सृष्टि पन्तलाई बिहान कलेज जाने क्रममा चाबहिलमा बसले ठक्कर दिँदा उनको मृत्यु भयो। भक्तपुर कमलविनायकबाट नयाँ बसपार्क चल्ने बा४ख ५९२० नम्बरको बसले उनलाई ठक्कर दिएको थियो। पन्त पशुपति कलेजमा बिबिएस चौथो वर्षमा अध्ययनरत थिइन्।

पुस ५ गते बुढानीलकण्ठ स्कुलनजिकैे बा१४च ६१२३ नम्बरको सुजुकी कारले ठक्कर दिँंदा पैदलयात्री लीला देवकोटाको ज्यान गयो। चालक पृथ्वी मल्लले मदिरा सेवन गरेर तीव्र गतिमा कार चलाएका कारण देवकोटाको ज्यान गएको हो।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्यांकअनुसार सवारी दुर्घटनामा सबैभन्दा जोखिममा पैदलयात्रु छन्। आर्थिक वर्ष ०७५÷७६ मा काठमाडौं उपत्यकामा भएका सवारी दुर्घटनामा दुई सय ५४ जनाको ज्यान गएको तथ्यांक छ। सवारीसाधनको ठक्करबाट ज्यान गुमाएका दुई सय ५४ मध्ये ९३ जना पैदलयात्री थिए। प्रहरीका अनुसार गत साउन यतामात्रै देशभर सडक दुर्घटनामा एक हजार ३० जनाको ज्यान गएको छ।

सबै सडकमा सिसी क्यामेरा नभएकाले ठक्कर दिएर बेपत्ता हुने चालक र सवारीसाधनलाई नियन्त्रणमा लिन समस्या भएको महानगरीय प्रहरी वृत थानकोटका डिएसपी घनश्याम श्रेष्ठ बताउँछन्। अँध्यारोमा हुने सडक दुर्घटनामा यस्तो समस्या हुने गरेको उनको भनाइ छ। उनका अनुसार सवारी दुर्घटनाको कारण एउटा मात्रै छैन। सडक र सवारीसाधनको अवस्था ठीक नहुनु, चालकले लेन मिच्नु, गति तीव्र हुनु, मापसे सेवन गरेर सवारी हाँक्नुजस्ता कारणले दृर्घटना भएका छन्। पैदलयात्रीले पनि जथाभाबी बाटो काट्दा सवारी दुर्घटना हुने गरेको छ। ‘घरमा छँदा कसैलाई हतार हुँदैन जब सडकमा निस्कछन् सबैलाई युद्धमै जान लागेजसरी हतार हुन्छ,’ उनले भने, ‘चालक र यात्रुले धैर्य गुमाउँदा पनि सवारी दुर्घटना बढेका छन्।’

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता जीवनकुमार श्रेष्ठ सडक दुर्घटनाबाट जोगिन चालक र पैदलयात्रु दुवैले सावधानी अपनाउनुपर्ने बताउँछन्। उनले सडकमा निस्केपछि चालक र पैदलयात्रु दुवैले नियम पालना नगर्दा दुर्घटना हुने गरेको बताए। ‘दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीले मात्रै सक्दैन, सडक प्रयोगकर्ताको पनि साथ र सहयोग चाहिन्छ, सबैले नियम मान्ने हो र सचेत हुने हो भने दुर्घटना कम हुन्छ,’ उनले भने।

मिलापत्र गर्दा चालकलाई छुट
सवारी दुर्घटनाका अधिकांश मुद्दा मिलापत्रमा टुंगिने गरेका छन्। कानुनमा कडा सजाय तोकिए पनि पीडित पक्ष मिलापत्र गर्न मन्जुर भएपछि चालकले छुट पाउने गरेका छन्। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार दुर्घटनाका ९० प्रतिशत मुद्दा मिलापत्रमै टुंगिएका छन्। बाँकी १० प्रतिशत चालकमात्र कारबाहीको दायरामा आउने गरेको ट्राफिक प्रहरी बताउँछन्।

पैसाको लोभमा पीडितले मिलापत्र गर्दा दुर्घटना गराउने चालक कानुनी कारबाहीबाट उम्किने गरेका छन्। ‘मैले लामो समय ट्राफिक दुर्घटनाको क्षेत्रमा काम गर्दा अधिकांश दुर्घटना मिलापत्रमै टुंगिएको पाएँ, चालकलाई धेरै सजाय भनेको दुई वर्षसम्म भएको थाहा छ,’ पूर्वट्राफिक प्रहरी सीताराम हाछेंथुले भने, ‘हामीले कडा कारबाही गर्ने भनेर अघि सारेका मुद्दा पनि अदालतमा पुगेपछि मिलपत्रलगायत नाममा हल्का भए। जसका कारण चालक कानुनी कारबाहीबाट जोगिए।’ पीडित पक्ष मिलापत्रमा जाँदा चालकमा लापरबाही गर्ने प्रवृत्ति बढेको उनको बुझाइ छ।

जन्मकैद सजाय भोग्नुपर्ने चालक सहजै उम्कन्छन्
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा सवारीसाधनले ठक्कर दिएर ज्यान लिने चालकलाई कडा कानुनको व्यवस्था छ। तर, हालसम्म चालकमाथि कानुन अनुसार सजायको अभ्यास भएको छैन। ऐनको परिच्छेद नम्बर १० मा रहेको सजायसम्बन्धी व्यवस्था अनुसार सडकमा किची, ठक्कर दिई वा कुनै किसिमले सवारी दुर्घटना गराएर बटुवा र अन्यको ज्यान लिएमा चालकलाई जन्मकैद सजाय हुने व्यवस्था छ। तर, हालसम्म कुनै पनि चालकलाई जन्मकैद नभएको पूर्वट्राफिक प्रहरी हाछेंथुले जानकारी दिए।

उनले चालकमाथि कानुनबमोजिम कारबाही नहुँदा लापरवाही बढेको बताए। ‘एक वर्षमा सवारी दुर्घटनमा दुई हजार पाँच सयजति मानिसको ज्यान जान्छ, त्यसमा सबैभन्दा मुख्य गल्ती चालककै देखिन्छ तर हालसम्म एकजना चालकमाथि पनि कानुन अनुसारको कारबाही भएको छैन,’ उनले भने, ‘कानुनमा जन्मकैद सजाय हुँदा पनि अदालतले पाँच वर्षसम्म थुन्न आदेश गरेका धेरै उदाहरण छन्, त्योभन्दा कडा कारबाही भएको छैन।’ उनले पटके गल्ती गर्ने र जेब्राक्रसमा ठक्कर दिने चालकलाई कारबाही हुने हो भने अरु पनि सचेत हुने बताए। उनका अनुसार जोखिमपूर्ण सडक क्षेत्रमा ट्राफिक लाइन नै राख्नुको विकल्प छैन। यसो गर्दा रातो बत्ती बलेको बेला सवारी रोकिन्छ अनि मात्रै पैदलयात्रु अघि बढ्छन्।

सार्वजनिक सवारीसाधन चालकलाई छुटैछुट
दुर्घटना निम्त्याउने सार्वजनिक सवारीसाधन चालकलाई छुटैछुट छ। यातायात व्यवस्था समिति र बिमा कम्पनीले आर्थिक खर्च र दुर्घटना मुद्दामा चालकलाई सहयोग गरिदिने भएकाले बटुवालाई ठक्कर दिने चालक सहजै उम्कन्छन्। यस्ता चालकले समितिको ओत पाएपछि सजायबाट मुक्त वा कम सजाय भोग्ने गरेका हुन्। यातायातकर्मी रामबहादुर थापाले चाकललाई हदैसम्मको कारवाही नगरेसम्म यातायात क्षेत्र नसुध्रिने बताए। उनले भने, ‘अहिले सार्वजनिक यातायात क्षेत्रमा व्यवसायी र चालकको दादागिरी छ। जसका कारण दुर्घटना गराउने चालक पनि सहजै उम्कन्छन्।’

जाडोमा दुर्घटनाको उच्च जोखिम

जाडो समयमा बिहान ७ बजेसम्म छ्याङ उज्यालो हुँदैन। मानिस भने उज्यालो नहुँदै सडकमा निस्किसकेका हुन्छन्। बढी चिसो हुने भएकाले सवारीसाधनको चाप पनि बिहानको समयमा अलि कम हुन्छ। सडक खाली भएपछि सवारीसाधनको गति तीव्र हुन्छ। बिहान सवारीसाधनको चाप कम देखेर पैदलयात्रुले जथाभाबी बाटो काट्छन्। यस्तो अवस्थामा तीव्र गतिका सवारीसानले ठक्कर दिएर पैदलयात्रुको ज्यान गएको उदाहरण धेरै छन्।

गत सोमबार कपनमा सवारीसाधन र जेब्राक्रसलाई बेवास्ता गरी जथाभाबी बाटो काट्दै गरेका मीनबहादुर घिसिङको सवारीसाधनको ठक्करबाट ज्यान गएको थियो। महानगरीय प्रहरी बृत महाराजगन्जका अनुसार पैदलयात्रीले पनि संयम नअपनाउँदा दृर्घटना हुने गरेको छ। ‘सवारी चालकलाई मात्रै दोष लगाएर हुँदैन, पैदलयात्रीको पनि गल्ती छ,’ बृत प्रमुख उमेश लम्सालले भने, ‘सवारी चालक र बटुवा दुवै सचेत हुने हो भने दुर्घटनाको दर घट्छ।’

जेब्राक्रस र डिभाइरविहीन सडक

उपत्यकाका धेरैजसो सडकमा जेब्राक्रस र डिभाइडर छैनन्। चक्रपथको सबैभन्दा अस्तव्यस्त खण्ड मानिने गौशालादेखि चाबहिलसम्म जेब्राक्रस नै छैन। त्यस्तै नयाँ बसपार्कदेखि बालाजुसम्म पनि बीचबीचमा जेब्राक्रस मेटिएका छन्। पैदलयात्रु जोखिम मोलेर सडक पार गर्छन्। महानगरीय प्रहरी बृत गौशालाका अनुसार सबैभन्दा बढी दुर्घटना हुने ठाउँमध्येमा चाबहिल र गौशाला क्षेत्र पनि पर्छ। नागरिक दैनिकबाट

प्रकाशित मिति: १२ पुस २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्