सैलुङपारी हिमालमा जीतबहादुर
काठमाडौँ, भदाै २०
सानैदेखि मादल बजाउन र मादलको तालमा कम्मर मर्काउँदै गीत गाउन खप्पिस जीतबहादुर खड्का ‘गोपाल’ गीति एल्बम ‘सैलुङपारि हिमाल’ लिएर बजारमा आएका छन् । उनको एल्बमको हालै राजधानीमा आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले विमोचन गरे । उनले खड्का प्रतिभाशाली व्यक्ति भएको उल्लेख गरे ।
घ्याङ् सुकाथोकर–७, दोलखाका स्थायी बासिन्दा खड्काको यसअघि ‘हृदयको आँसु’ एल्बम आइसकेको छ । यो उनको दोस्रो एल्बम हो । उनको एल्बमबारे प्राज्ञ तथा कवि श्रवण मुकारुङले भने, ‘खड्काको गायनमा दम छ । यो एल्बमभित्रका गीतहरु सुनेपछि उनी लोककवि पनि हुन् भन्ने दावी गर्न सकिन्छ ।’
उनले ‘हर्के हवल्दार’, ‘तीतो सत्य’ र ‘हाकाहाकी’ नामक टेलिचलचित्रमा अभिनय गरेका छन् । भर्खरै बजारमा आएको खड्काको एल्बम ‘सैलुङपारि हिमाल’मा ‘च्यान्टी नानी काली काली’ र ‘पूर्वमा प¥यो दार्जेलिङ सहर’ गरी दुई गीत समाविष्ट छन् ।
पहिलो गीत लोकआधुनिक शैलीमा छ भने दोस्रोचाहिँ ठेट पूर्वेली लोकशैलीमा । दुवै गीतका रचनाकार तथा सङ्कलक गोपाल स्वयम् हुन् । एल्बमको पहिलो गीतमा चाहिँ धु्रवराज खड्काको सङ्गीत रहेको छ ।
पहिलो नम्बरको गीतको तुलनामा दोस्रो नम्बरको गीतले पूर्वेली लोकगीतका पारखीहरुको मनमा राम्रै स्थान लिने देखिन्छ । एल्बमको उत्पादन तथा वितरण वागिना म्युजिकले गरेको हो ।
प्रकाशित मिति: २० भाद्र २०७३, सोमबार