गोदाममै कुहियो ४८ हजार किलो चामल
काठमाडौं, पुस १०
खाद्य व्यवस्था तथा व्यापार कम्पनीको अञ्चल कार्यालय काठमाडौंले पाँच वर्षअघि धनुषाका किसानबाट किनेको ४८ हजार सात सय किलो बासमती चामल थापाथली गोदाममै कुहिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गोदाममा रहेको चामलमा चिलेसा परेको, किरा स्पष्ट देखिएको, किराले चामल धूलो बनाएको र रङ परिवर्तन भएर खैरो भएको जनाउँदै खान अयोग्य भनेको छ ।
जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि सम्मिलित विभागको टोलीले पुस १ मा अनुगमन गर्दा गोदाम नं २४ मा १० केजी र २५ किलोका सिलबन्दी बोरामा ‘नेपाल खाद्य संस्थान ०७१/७२’ उल्लेख भएको तीन सय २३ क्विन्टल र गोदाम नं ३० मा १० र २० किलोका बोरामा एक सय ६४ क्विन्टल बासमती चामल पाइएको थियो । ‘यो चामल पाँच वर्षअघि जनकपुरको हाम्रै मिलबाट कुटेर काठमाडौंका उपभोक्तालाई लक्ष्य गरेर ल्याइएको थियो,’ अञ्चल कार्यालय थापाथलीका प्रबन्धक रणबहादुर बुढाथोकीले भने, ‘ऊ बेला बिकेन । अहिले मूल्यअनुसारको चामल भएन । बिक्री नभएपछि गोदाममै कुहियो ।’ खाद्यले बासमती चामल अहिले प्रतिकिलो ७९ रुपैयाँमा बिक्री गरिरहेको छ ।
बजार मूल्यअनुसार ३८ लाख ४७ हजार ३ सय रुपैयाँको चामल गोदाममा कुहिएको हो ।खाद्यले आफूखुसी चामल नष्ट गर्न नसक्ने भएपछि विभागलाई गुणस्तर परीक्षणका लागि पत्राचार गरेको थियो । जिल्ला प्रशासनका प्रतिनिधिलाई समेत राखेर विभागका खाद्य निरीक्षकको टोलीले निरीक्षणपछि चामल नष्ट गर्न सुझाव दिएको थियो । ‘दुईवटा गोदामको चामल कुहाएर कसरी राख्न सकेको होला ?’ निरीक्षणमा गएका एक खाद्य निरीक्षकले भने, ‘यो त लापरबाहीको पराकाष्ठा हो ।’ विभागले चामल नष्ट गर्न प्रतिनिधि पठाइदिन भन्दै प्रशासनलाई आग्रह गरेको थियो ।
लापरबाही गरेर चामल कुहाएको भन्दै प्रशासनले प्रतिनिधि पठाउन इन्कार गरेको स्रोतले जनाएको छ । ‘त्यो चामल अन्यत्र लैजान वा नष्ट गर्न विभागले निर्णय गर्नुपर्ने गरी हामीले अनुगमनका क्रममा खाद्यका थापाथली प्रमुखलाई सही गराएका थियौं,’ गुण नियन्त्रण विभाग स्रोतले भन्यो । प्रक्रिया पूरा नगरी नष्ट गर्दा अख्तियारको फन्दामा पर्ने भएपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनीको अञ्चल कार्यालय र गुण नियन्त्रण विभागले अख्तियार दुरुपयोग अनुसन्धान आयोग गुहारेका छन् । यो चामल कसरी व्यवस्थापन गर्ने भन्दै विभागले बुधबार अख्तियारलाई पत्र लेखेर निर्देशन मागेको हो ।कान्तिपुर दैनिकबाट
प्रकाशित मिति: १० पुस २०७६, बिहिबार