बलियो बन्दै विपक्षी : कांग्रेस, समाजवादी र राजपाबीच गठबन्धन बनाउने प्रयास सुरु


 


काठमाडौँ, पुस १०
सत्ता गठबन्धनबाट समाजवादी पार्टी बाहिरिएसँगै संसद्मा विपक्षी मोर्चा बलियो बनेको छ । नेकपा एक्लैको बहुमत भएकाले यसबाट सत्ता हेरफेरमा असर नपरे पनि विपक्षीको संख्यात्मक बढोत्तरीले संसद् विगतभन्दा चुनौतीपूर्ण हुने देखिएको छ ।

सरकारबाट मंगलबार हटेको समाजवादीले बुधबार विपक्षी बेन्चमा बस्ने निर्णय लिएको छ । समाजवादीले बहिर्गमनको मुख्य कारण संविधान संशोधनको मुद्दाबाट सरकार पछि हट्नुलाई बनाएको छ । सहायक कारण प्रधानमन्त्री केपी शर्मा ओलीको एकलौटी सरकार सञ्चालन गर्ने कार्यशैलीलाई बनाएको छ । समाजवादीका कार्यकारिणी अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले संविधान संशोधनकै मुद्दा उठाएर संसद् र सडक संघर्ष गर्ने उद्घोष गरेका छन् । उनीहरूले संसद्मा रहेका अन्य विपक्षी दलसँगको सहकार्यलाई समेत जोड दिएका छन् । भट्टराईले मुद्दाका आधारमा प्रमुख प्रतिपक्षी कांग्रेसलगायत सबै विपक्षीसँग सहकार्य हुने बताए ।

कांग्रेसले पनि संविधान संशोधनलगायत मुद्दामा समाजवादी र राजपासँग सहकार्य गरेर अघि बढ्न सक्ने संकेत दिइसकेको छ । एक्लो विपक्षी छँदा कांग्रेसले संसद्मा प्रभावकारी ढंगले आवाज उठाउन सकेको थिएन । प्रतिनिधिसभामा नेकपा एक्लैको १ सय ७४ सिट छ भने प्रमुख प्रतिपक्षी कांग्रेसका ६३ जना मात्र सांसद छन् । समाजवादी र राजपाका सांसद १७/१७ जना छन् । विपक्षी मोर्चामा रहेका मजदुर किसान पार्टी र राप्रपाको एक/एक सिट छ ।

१८ महिनाअघि दुईबुँदे सहमति गरेर समाजवादी पार्टी सरकारमा सामेल भएको थियो । सरकारमा नगए पनि राजपाले सरकारलाई समर्थन दिएको थियो । सांसद रेशम चौधरीलाई अदालतले जन्मकैदको सजाय सुनाएको घटनाबाट असन्तुष्ट उसले ०७५ फागुन २३ गते सरकारलाई दिएको समर्थन फिर्ता लियो । त्यसपछि राजपा विपक्षी मोर्चामा छ । त्यसयता कतिपय मुद्दाहरूमा राजपाले कांग्रेससँग सहकार्य गर्दै आएको छ । कांग्रेस र राजपाको सहकार्यमा लामो समयसम्म संसद् अवरुद्धसमेत भएको थियो । अब समाजवादी पार्टीसमेत थपिएपछि सरकारलाई संसद् ‘फेस’ गर्न पहिलेजस्तो सहज हुने छैन ।

कांग्रेस केन्द्रीय सदस्य एवं राष्ट्रिय सभा संसदीय दलका नेता सुरेन्द्र पाण्डेले संविधान संशोधनको मुद्दामा समाजवादी र राजपासँग सहकार्य गरेर अघि बढ्न सकिने बताए । ‘संविधानको दोस्रो संशोधन हाम्रै पार्टीको नेतृत्व रहेको सरकारले अघि बढाएको हो, तत्कालीन एमालेको असहयोगका कारण पारित हुन सकेन,’ उनले भने, ‘समाजवादी र राजपाले उठाउँदै आएको मुद्दामा हामी सँगै अघि बढ्न सक्छौं, त्यसका लागि छलफल गर्न सकिन्छ ।’

सरकारविरुद्ध बेलाबखत सडक र सदनमा संघर्ष गर्दै आएको कांग्रेस समाजवादी पार्टी सत्ताबाट बाहिरिएपछि उत्साही देखिएको छ । तीन विपक्षी दल मिल्न सके सरकारका गलत कदम मात्र नभएर आगामी चुनावमा नेकपालाई बहुमतबाट पनि रोक्न सकिने बुझाइ कांग्रेसमा छ । ‘सबै विपक्षी मिलेर सरकारका गलत कामकारबाहीलाई रोक्नुपर्छ,’ पाण्डेले थपे, ‘सरकारले मच्चाएका काण्डको भन्डाफोर गर्नुपर्छ ।’

राजपाका नेता राजेन्द्र महतो सबै मुद्दामा संयुक्त मोर्चा बनाएरै अघि बढ्ने सम्भावना कम रहेको बताउँछन् । उनको बुझाइमा संविधान संशोधनको सवालमा नेकपा र कांग्रेस एकैठाउँ छन् । ‘जनजीविकाको मुद्दामा हामी एकैठाउँमा उभिन सक्छौं तर संविधान संशोधनअन्तर्गत पहिचान र अधिकारका मूल मुद्दा उठ्न थालेपछि कांग्रेस पनि नेकपासँगै गएर मिल्छ,’ महतोले थपे, ‘हामीले संविधान संशोधनको मुद्दा संसद् र संसद्बाहिर उठाइरहँदा कांग्रेस चिन्तित भएको पाएका छैनौं ।’

राष्ट्रिय सभामा नेकपासँग गठबन्धन गरेका कारण कांग्रेस र समाजवादीलाई राजपाप्रति संशयसमेत छ । समाजवादी बाहिरिएर राजपा सरकारमा सामेल भए अहिलेको स्थितिमा तात्त्विक फरक पर्ने देखिन्न । राजपा नेता महतोले भने सरकारमा जान्छ भनेर हल्ला गर्नुलाई ‘अपराध’ को संज्ञा दिए । ‘सरकारसँग हाम्रो डेडलकको अवस्था थियो । राष्ट्रिय सभाको निर्वाचनको गठबन्धनपछि डेडलक खोलिएको मात्रै हो,’ महतोले भने, ‘यसैका आधारमा सरकारमा जान्छ भनेर कल्पना गर्नु पनि अपराध हो ।’ उनले संविधान संशोधनको मुद्दा अन्त्य नभएसम्म सरकारमा जाने कुरा वाहियात रहेको बताए । समाजवादी पार्टीले सरकारले संविधान संशोधन नगर्ने निर्णय लिइसकेकाले राजपा सरकारमा जानुलाई आत्महत्याको बाटो हुने भनेको छ । ‘राजपाले यस्तो आत्महत्या गर्ला भनेर म पत्याउँदिनँ,’ समाजवादी पार्टीका अध्यक्ष यादवले भने ।

समाजवादी–राजपा एकता कति नजिक ?
सत्ता बहिर्गमनपछि समाजवादीले राजापासँगको एकीकरणलाई जोड दिएको छ । समाजवादी पार्टी केन्द्रीय कार्यालयको निर्णयपछि आयोजित पत्रकार सम्मेलनमै समाजवादी पार्टीका दुवै अध्यक्षले राजपासँगको एकीकरणलाई सत्ताको बहिर्गमनले बल पुर्‍याएको तर्क गरेका थिए । राजपाले पार्टी एकीकरणका लागि समाजवादीले सरकार छाड्नुपर्ने सर्त अघि सार्दै आएको थियो । ‘पार्टी एकीकरणका लागि कुराकानी भइरहेको छ । प्राविधिकबाहेक धेरै विषय मिली पनि सकेको छ, अब त सरकार छाड्नुपर्ने राजपाको माग पनि पूरा भएको छ,’ यादवले भने, ‘राजपा सकारात्मक रूपमा अघि बढे पार्टी एकीकरण हुन्छ ।’ राजपा नेता महतोले पनि एकीकरणका लागि वार्ता अघि बढ्ने जनाउ दिए ।

दुवै दलले नेकपा र कांग्रेसबाहेकको वैकल्पिक शक्ति निर्माणका लागि पार्टी एकीकरणलाई जोड दिँदै आएका छन् । राजपा नेता महतोले केही दिनअघि कान्तिपुरसँगको कुराकानीमा आगामी निर्वाचनमा नेकपालाई बहुमतबाट रोक्न पनि पार्टी एकीकरण गर्नुपर्ने औंल्याएका थिए । एउटै दलले बहुमत ल्याउँदा संसदीय सन्तुलन बिग्रेको उनको तर्क थियो । दुई पार्टीबीच एकीकरण भए आगामी निर्वाचनमा नेकपा र कांग्रेस दुवैले एक्लै बहुमत ल्याउन नसक्ने र त्यस्तो अवस्थामा राष्ट्रिय शक्ति सन्तुलनमा एकीकृत पार्टीको भूमिका महत्त्वपूर्ण हुने धारणा महतोले राखेका थिए । समाजवादीको अहिलेको सत्ता बहिर्गमन पनि त्यसै दिशातिर लक्षित हो कि भन्ने अड्कल गरिएको छ । ‘अबको तत्कालको बाटो संसदीय, शान्तिपूर्ण जनसंघर्षबाटै संविधान संशोधनका लागि दबाब दिने हो,’ समाजवादीका अध्यक्ष यादवले भने ।

एकलौटी सम्झौता तोडिएपछि बाहिरियौं : यादव
यादवले प्रधानमन्त्री ओलीमाथि डेढ वर्षअघिको दुईबुँदे सहमति तोडेको आरोप लगाएका छन् । सरकारबाट बाहिरिने पार्टीको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘विभागीय मन्त्रीको हैसियतले संविधान संशोधनका लागि अध्ययन गर्न कार्यदल बनाउने प्रस्ताव मन्त्रिपरिषद्मा राखें । प्रधानमन्त्रीजीले संविधान संशोधन आवश्यक छैन भन्नुभयो । त्यसपछि सरकारमा बस्नुको औचित्य भएन ।’

केही समयअघि आफू अन्तर्राष्ट्रिय सम्मेलनमा भारतमा भएका बेला प्रधानमन्त्रीले स्वास्थ्य मन्त्रालयबाट कानुनमा स्थानान्तरण गरेकामा पनि उनले असन्तुष्टि जनाए । ‘सम्मेलनको एउटा सत्रमा बस्दा म स्वास्थ्य तथा जनसंख्यामन्त्रीको हैसियतमा थिएँ,’ उनले भने, ‘दोस्रो सत्रमा जाँदा त्यहाँ नेपालको प्रतिनिधित्व नै रहेन ।’

मन्त्रालय बदल्दा संविधान संशोधनको विधेयक अघि बढाउन सकिएला भनेर आफूले सरकार नछाडेको यादवको भनाइ थियो । कान्तिपुर दैनिकबाट

प्रकाशित मिति: १० पुस २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्