नरिवलको रक्सि खाँदा ८ जनाको मृत्यु, सयौं अस्पताल भर्ना


 


एजेन्सी। नरिवलको रक्सी खाँदा फिलिपिन्समा कम्तीमा आठ जनाको मृत्यु भएको छ । रक्सीकै कारण बिरामी भई ३ सय भन्दा बढी अस्पताल भर्ना भएका छन ।

उनीहरुले सेवन गरेको रक्सीमा ‘मेथनल’ भन्ने पदार्थ अत्यधिक धेरै भएकाले असर गरेको हुन सक्ने अनुमान गरिएको छ। राजधानी मनिलादेखि दक्षिणपूर्वी क्षेत्रको रिजाल’ भन्ने ठाउँमा भएको हप्तान्त भेलामा सहभागी भएर रक्सी सेवन गरेकाहरु मध्ये केहीको मृत्यु भएको र केही बिरामी भएका हुन् ।

रक्सी सेवन गरेपछि उनीहरुले सुरुमा पेट दुखेको बताएका थिए । बिरामी भएका मध्ये नौ जनाको अवस्था गम्भीर रहेको राजधानी मनिलास्थित फिलिपिन्स जनरल अस्पतालका प्रवक्ता जोसे जोनास डेल रोसारिओले जानकारी दिएका छन ।

क्रिसमसको अवसरमा अत्यधिक माग हुने यस रक्सीको बेचविखन, वितरण र सेवनमा प्रतिबन्ध लगाउन स्थानीय सरकारले आदेश दिएको छ । बजारमा बिक्री वितरणका लागि पाइने नरिवलको अधिकांश रक्सी स्थानीय बासिन्दाले नै बनाउने गरेका छन।

प्रकाशित मिति: ८ पुस २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्