भीम रावलकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले किन गरे कडा आलोचना?


 


काठमाडौं – एकसाता चलेको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक आइतबार सकिएको छ । बैठकपछि केही सञ्चार माध्यमले बैठकका निर्णयबारे नेता भीम रावललाई प्रश्न गरे । रावलले सञ्चारकर्मीलाई स्थायी समिति बैठकका निर्णयबारे फटाफट जानकारी दिए । तर भीम रावलले सञ्चारकर्मीमाझ बोलेकोमा नेकपा केन्द्रीय सदस्य तथा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आपत्ति जनाएका छन् ।

आइतबार राति थापाले आफ्नो फेसबुकमा भीम रावलले मिडियासामू बोलेको भीडियो सेयर गर्दै त्यसको कडा आलोचना गरेका छन् । पार्टीका निर्णय सुनाउने जिम्मा पार्टी प्रवक्ताको भएकोले रावलले प्रवक्ताको काम गर्नु अराजक व्यवहार भएको आरोप थापाले लगाएका छन् । ‘

‘कमरेड भीम रावल सुदूरपश्चिम प्रदेश समन्वय कमिटी इन्चार्ज रहनुभएको छ । अनि प्रवक्ताको काममा यो के को अभ्यास हो?’ थापाले लेखेका छन् ।–‘कुन काम कसको जिम्माको हो? ख्याल गरिदिने कसले हो त? अन्यथा, कार्यविभाजनबाट निर्धारित जिम्मेवारी कुण्डल र बुलाकीजस्तो हुने, अनि जो पनि प्रवक्ता जस्तो बनेर प्रस्तुत हुने अराजकता हावी हुन्छ ।’

पार्टीले प्रवक्ता नारायणकाजी श्रेष्ठलाई केन्द्रीय प्रचार तथा प्रकाशन विभागको प्रमुख र आफूलाई उपप्रमुख बनाएको स्मरण गराउँदै थापाले पार्टीका निर्णय बाहिर ल्याउने जिम्मा आफूहरुको भएको भन्ने प्रस्ट्याउन खोजेका छन् । ८ घण्टापछि सोमबार बिहान थापाले फेसबुकको स्टाटस भने डिलिट गरेका छन् ।

राजनीतिक प्रतिवेदन पारित गर्न प्रस्ताव गर्ने बेला महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य भीम रावलबीच चर्काचर्की परेको थियो । अध्यक्ष दाहालले प्रतिवेदन सुझाव समेटेर परिमार्जन गर्ने भन्दै पारित गर्न प्रस्ताव गरेका थिए ।

प्रतिवेदनमा एमसीसीबारे प्रस्टता नभएको भन्दै भीम रावलले आफ्नो फरक मत रहेको जनाएका थिए । उनले १० पृष्ठको लिखित फरक मत बैठकमा देखाएका थिए । अध्यक्ष दाहालले सम्झाएपछि रावलले फरक मत फिर्ता लिएको घोषणा गरेका थिए । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट लिइएको हो ।

प्रकाशित मिति: ७ पुस २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्