जनस्तरको सहयोगमा बौद्ध स्तुपको पुनर्निर्माण तिब्र
सङ्गीता राना
काठमाडौँ, भदाै १९
महाभूकम्पमा भत्किएको विश्व सम्पदामा सूचीकृत पुरातात्विक सम्पदा बौद्ध महाचैत्य (स्तूप)को पुनर्निर्माणमा तिब्र गतिमा भइरहेको छ । जनस्तरको सक्रियतामा थालिएको स्तूपको पुनर्निर्माण ९० प्रतिशत पूरा भइसकेको छ ।
पाँचौँ शताब्दीमा निर्माण भएको मानिने यो विश्वसम्पदा अबको दुई महिनाभित्रमा साविककै स्थितिमा फर्किने बौद्धनाथ क्षेत्र विकास समितिले बताएको छ । विनाशकारी भूकम्पपछि पुनर्निर्माण थालिएको उपत्यकाको यो नै पहिलो विश्व सम्पदा हो ।
पुनर्निर्माण सम्पन्न हुने पनि पहिलो नै बन्दैछ । ‘मंसिर पहिलो साता देवातरण दिवस (लभव धुइछेन)को साइत पारेर प्राण प्रतिष्ठा गर्दैछौँ,’ समितिका अध्यक्ष सम्पूर्णकुमार लामाले भने, ‘चारैवटा बौद्ध परम्पराका धर्मगुरुको उपस्थितिमा राष्ट्रप्रमुखको बाहुलीबाट समुद्घाटन गर्ने योजना छ ।’
भूकम्पले महाचैत्यको डोमदेखि त्रयोदश भुवन (तेह्रवटा खुडकिला) सम्मका भागहरू, मण्डला र छ्योर्तेनहरू पूरै भत्काएको थियो । भूकम्पका परकम्पनहरु आइरहकै बेला पुरातत्व विभागका विज्ञहरूको प्रत्यक्ष निगरानीमा २०७२ जेठ १० गतेदेखि यसको पुनर्निर्माण थालिएको थियो ।
पुनर्निर्माणको तत्कालीन प्राविधिक लागत १८ करोड ४५ लाख रुपैयाँ निस्केको थियो । तथापि आफूसँग उपलब्ध ३ करोड रुपैयाँबाट समितिले पुनर्निर्माण कार्य आरम्भ गरेको थियो । उक्त रकम स्तूप प्रवेश गर्ने पर्यटकबाट लिइने आर्थिक वर्ष २०७१÷७२ मा उठेको शुल्क थियो ।
पुनर्निर्माण कार्य धमाधम अगाडि बढ्दै जाँदा पछि सहयोगी शुभचिन्तक थुप्रै आउन थालेका थिए । अध्यक्ष लामाले भने, ‘रकमका कारण पुनर्निर्माण कार्य रोक्नु परेन ।’ अहिलेसम्म १४ करोड २२ लाख रुपैयाँ नगद जम्मा भइसकेको उनले जनाए ।
स्तूपमा लगाउने सुनको मोलम्बाका लागि व्यक्तिगत पहलमै ३० किलो सुन दानस्वरूप प्राप्त भएको बताइएको छ । धर्मगुरु ताई रिन्पोछे र उनीअन्तर्गतका बौद्ध संघसंस्था र अनुयायीको पहलमा २९ किलो र सर्वसाधारणबाट एक किलो सुन जम्मा भएको समितिले जनाएको छ ।
मोलम्बाका नपुग बाँकी ३ किलो सुन पनि सर्वसाधारणबाटै जम्मा हुँदै गरेको अध्यक्ष लामाले बताए । पुनर्निर्माणलाई चाहिनेभन्दा बढी सहयोग जम्मा भइसकेको बताउँदै लामाले भने, ‘वचत रकमबाट धर्मशालाका लागि भवन तथा जग्गा खरिद गर्ने समितिको योजना छ ।’ अहिलेसम्म महाचैत्यअन्तर्गत साना छ्यार्तेनहरू, मण्डला र त्रयोदश भुवनको पुनर्निर्माण सकिसकेको छ ।
छत्रावली र पद्म काठ (कमलको फूल) बनाउने कार्यका साथै पुराना तामाका पाताहरूमा सुनको मोलम्बा लगाउने कार्य ९० प्रतिशत सकिसकेको छ । समितिका कार्यकारी निर्देशक फुबु याङजी लामाका अनुसार महाचैत्यको पुनर्निर्माणमा पुरानैपन झल्काउन बज्र प्लास्टर प्रयोग गरिएको छ ।
यो सिमेन्ट जत्तिकै बलियो हुने परम्परागत प्रविधि हो । काँचो चुन, सुर्खी (इँट्टाको धुलो) र बालुवा प्रयोग गरी बज्र प्लास्टर निर्माण गरिन्छ । पुरातत्व विभागको सिफारिसअनुसार नै यस्तो विधि अपनाइएको उनले बताइन् ।
भूकम्पले भत्किँदा महाचैत्यको माथिल्लो भागमा १९ वटा तामाका बन्द बाकस भेटिएका थिए । ती सबै पुरातत्व विभागको रोहबरमा लाहछाप लगाई संरक्षणका लागि प्रहरीलाई जिम्मा लगाइएको थियो ।
पुनर्निर्माण क्रममा ती बाकसलाई नखोलीकनै महाचैत्यभित्रै राखिएको समितिले जनाएको छ । ३६ मिटर अग्लो महाचैत्यलाई चट्याङबाट जोगाउन पहिलो पटक अर्थिङसमेत जडान गरिएको छ ।
समितिले गत शनिबार पत्रकार सम्मेलन गरी सहयोगीहरूको सूचीसमेत सार्वजनिक गरेको छ । सूचीअनुसार सहयोगीमध्ये मकाउका विद्यार्थी र प्रोफेसरहरूबाट २ करोड १६ लाख रुपैयाँ, एचएनके ग्रुप र कमनवेल फाउन्डेसनबाट ३ करोड रुपैयाँ, चिनियाँ बुद्धिस्ट एसोसिएसनबाट ३ करोड ५० लाख रुपैयाँ, तेर्कर फाउन्डेसन नेपालबाट १ करोड रुपैयाँ, लुम्बिनीस्थित चिनियाँ गुम्बाबाट ५० लाख रुपैयाँ, बोधिधातुबाट २० लाख रुपैयाँ, विभिन्न संघसंस्थाबाट ३ करोड २० लाख ५० हजार रुपैयाँ र चिनियाँ दूतावासबाट ६५ लाख रुपैयाँ स्तुप पुर्निर्माणका लागि सहयोग प्राप्त भएको छ ।
प्रकाशित मिति: १९ भाद्र २०७३, आइतबार