डिआइजी सरुवा विवादमा, सिनियर जुनियरको लफडा
काठमाडौं, पुस ५
गृहमन्त्रालयले गरेको प्रहरी नायव महानिरीक्षक (डिआइजी)को सरुवा विवादमा परेको छ । नियरको कमान्डमा सिनियरलाई राखेपछि विवाद भएको हो । सरुवामा महानगरीय प्रहरी कार्यालय, रानीपोखरीमा डिआइजी विश्वराज पोखरेललाई खटाइएको थियो ।
महानगरीय प्रहरी कार्यालयअन्तर्गतको महानगरीय विमानस्थल सुरक्षा कार्यालयमा पोखरेलभन्दा सिनियर डिआइजी सूर्य उपाध्याय छन् । प्रहरीमा जुनियरको कमान्डमा सिनियरहरू खटाइँदैन । सोही कारण सरुवामा समस्या भएको छ ।
यस विषयमा बिहीबार गृह मन्त्रालयमा छलफल भएको थियो । गृह मन्त्रालयका अधिकारीहरू प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको कमजोरीले सरुवामा त्रुटि भएको बताउँछन् । ‘को सिनियर र को जुनियर भन्ने कुरा त प्रहरी महानिरीक्षकलाई थाहा हुनुपर्ने हो,’ गृहका एक अधिकारीले भने, ‘तर सरुवामा उहाँले केही भन्नुभएन, अहिले समस्या भयो ।’
स्रोतका अनुसारको आफूभन्दा जुनियरको कमान्डमा नबस्ने भन्दै डिआइजी उपाध्याय बिदामा बसेका छन् । प्रहरी महानिरीक्षक खनालले सीधै आफूलाई ब्रिफिङ गर्न भने पनि कानुनी रूपले भने महानगरीय प्रहरी आयुक्तलाई नै ब्रिफिङ गर्नुपर्ने अवस्था छ ।
गत वर्ष पनि यस्तै समस्या आएपछि विमानस्थल प्रहरी प्रमुख रहेका डिआइजी शेरबहादुर बस्नेत सरुवा मागेर सुरक्षा परिषद् गएका थिए । नयाँ पत्रिकामा खबर छ ।
प्रकाशित मिति: ५ पुस २०७६, शनिबार