सहकारीको १२ करोड हिनामिना
काठमाडौं, पुस ५
कपिलवस्तु बचत तथा ऋण सहकारी संस्थामा भएको १२ करोड रुपैयाँ घोटालाको छानबिनका लागि ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। सहकारीका व्यवस्थापकसहित थप ३ जना कर्मचारीलाई नियन्त्रणमा लिएर छानबिन थालिएको हो।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले सहकारीका व्यवस्थापक अभिनाश पाण्डेय, कार्यालय सहायक राकेश ठाकुर र बचत संकलनकर्ता श्रवणकुमार गुप्ता (तेली) लाई अनुसन्धानका लागि हिरासतमा लिएको छ।
सहकारी संस्थाको १२ करोड रुपैयाँ हिनामिना प्रकरणमा सहकारीका कार्यालय सहायक राजेश कान्दुलाई प्रहरीले २३ दिनअघि पक्राउ गरी अनुसन्धान गरिरहेको छ। सहकारीमा आर्थिक हिनामिना भएको भेटिएपछि केही दिनका लागि सहकारीको कारोबार बन्द गरी खाता, कम्प्युटर पोस्टिङ, लेजर इन्ट्रीलगायत सबै कारोबारलाई सूक्ष्म ढंगबाट चेक जाँच सुरु गरिएको सहकारीका अध्यक्ष रामेन्द्र सिंह रावलले बताए। सहकारी संस्थाको कारोबार १ महिनादेखि बन्द छ।
प्रहरीले ठगी तथा संगठित अपराधअन्तर्गत मुद्दा चलाउने तयारी गरेको छ। घटनाको अनुसन्धान अगाडि बढाउन पक्राउ परेका ४ जनाउपर सोधपुछ तथा बयान लिने काम भइरहेको प्रहरी नायब उपरीक्षक सुनील मल्लले बताए। अनुसन्धान थप सहज बनाउन नेपाल प्रहरीको सीआईबीको टोली जिल्ला आउने भएको छ।
कपिलवस्तु नगरपालिका-१ कालिका टोलस्थित कपिलवस्तु बचत तथा ऋण सहकारी संस्था लिमिटेडका कर्मचारीबाट १२ करोड रुपैयाँ हिनामिना भएको रहस्य बाहिरिएको थियो।
सहकारीका कार्यालय सहायक राजेशकुमार कान्दुले १ करोड ४ लाख ३२ हजार ७ सय १२ रुपैयाँ हिनामिना गरेको आरोप छ। सहकारीका प्रमुख कार्यकारी अधिकृत कुमुद बर्माका अनुसार ०७४ असार २१ गतेदेखि ०७५ माघ २५ गतेसम्मको हिसाब रसिदा हेर्दा कान्दुले रकम हिनामिना गरेको भेटिएकोे छ। आरोपी कर्मचारी कान्दुले सहकारीमा देखिएको हिनामिना रकममध्ये २ करोड रुपैयाँ व्यक्तिगत प्रयोजनमा उपभोग गरेको स्विकारेका छन्।
यसबाहेक अन्य १० करोड रुपैयाँ खोजी गर्न पुराना स्रेस्ताको पुनः चेकजाँच कार्यअघि बढाइएको छ। व्यवस्थापक पाण्डेसहितको संलग्नता आशंकामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
सहकारीका बचत संकलक श्रवणकुमार गुप्ता (तेली) ले २७ लाख ६९ हजार २ सय ४३, सुन्दर केशव गुप्ताले १९ लाख ५ हजार ७ सय ६६, सञ्जीवन मान शाक्यले ३ लाख ३० हजार ६ सय, तिजु कुर्मीले ७१ हजार ९ सय ७८ र कमलेश बारीले ४ लाख ८२ हजार ५ सय ४९ रुपैयाँ भदौको हिसाब गर्दा हिनामिना गरेको देखिएको छ। तीमध्ये संकलनकर्ता सञ्जीवनमान शाक्य र तिजु कुर्मीले आफ्नो जिम्मामा देखिएको सबै बक्यौता रकम सहकारीमा जम्मा गरेका छन्।
सहकारीमा ०७५-७६ को लेखा परीक्षणअनुसार ऋण लगानीतर्फ ३ करोड ९ लाख २२ हजार ८ सय ७७ रुपैयाँ फरक देखिएको छ। बचतकर्ताबाट संकलित निक्षेपमा ८ करोड ४० लाख ४० हजार ८ सय ६५ रुपैयाँ फरक देखिएको छ। अन्नपूर्ण दैनिकबाट
प्रकाशित मिति: ५ पुस २०७६, शनिबार