ललिता निवास प्रकरणमा मुद्दा चलाउने तयारी


 


काठमाडौं, पुस ५
बालुवाटारस्थित ललिता निवासको झन्डै ११४ रोपनी जग्गामा भएको अनियमितता प्रकरणमाथिको छानबिन अन्तिम चरणमा पुगेको छ । जग्गा अनियमितता प्रकरणमा पूर्वप्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्रीसहित सयभन्दा बढी मुछिएका छन् । ‘अनुसन्धान अन्तिम चरणमा पुगेको छ । केही दिनमै परिणाम आउला,’ अख्तियार दुरुपयोग अनुसन्धान आयोगका एक अधिकारीले भने, ‘प्रक्रिया पूरा हुन बाँकी रहेको र अनुसन्धान गोप्य हुने भएकाले सबै तथ्य अहिल्यै भन्न मिलेन ।’ अनुसन्धान सकिएकाले छिट्टै मुद्दा लैजाने तयारीमा आयोग रहेको छ ।

अख्तियारका साक्षी र कतिपय आरोपित व्यक्तिको कागजमा सनाखत गर्न बाँकी रहेका कारण निर्णय परिपक्व नभएको स्रोतले बतायो। यो प्रकरणमा अख्तियारले ६ महिना लगाएर अनुसन्धान गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धान म्याद थपिएका कारण अनुसन्धान पूरा भए पनि तत्काल मुद्दा लैजाने वा नलैजाने विषयमा अख्तियार दोधारमा परेको छ । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सीआईबीको म्याद थप एक महिना बढाउने निर्णय लिएको थियो ।

सरकारी, सार्वजनिक, गुठी र सरकारद्वारा अधिग्रहण तथा जफत गरिएका जग्गा हिनामिनासम्बन्धी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न सरकारले छानबिन समिति गठन गरेको थियो। ललिता निवास परिसरका नक्कली जग्गाधनी तथा नक्कली मोहीलाई सक्कली जग्गाधनी र मोही मानेर सरकारी जग्गा सट्टाभर्ना दिने निर्णय भएको प्रारम्भिक निष्कर्ष अख्तियारको छ । नक्कली जग्गाधनी र मोहीका नाममा सरकारी स्वामित्वको जग्गा दर्ता गर्ने निर्णय मन्त्रिपरिषद्बाट भए पनि सुरु निर्णय, प्रस्ताव, टिप्पणी उठाउने एवम् कारोबारमा प्रत्यक्ष संलग्नता देखिएका व्यक्तिमाथि आरोपपत्र जान सक्ने अवस्था छ । यो समाचार अन्नपूर्ण पोस्ट् दैनिकबाट लिइएको हो ।

प्रकाशित मिति: ५ पुस २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्