लोकसेवामा नतिजा बेच्ने पेसेवर ! आठ पटक नाम निकालेपनि नियुक्ति नलिएको भेटियो


 


काठमाडौं, पुष ४
लोकसेवा आयोगको परीक्षामा नाम निकालेर पनि जागिर नखाने पेसेबर रहेको खुलासा भएको छ आयोगका अध्यक्ष र प्रधानमन्त्री कार्यालयकै सचिवले लोकसेवा आयोगको नतिजा किनबेच हुने गरेको बताएका हुन् । नयाँ पत्रिकामा खबर छ ।

संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा आयोग अध्यक्ष उमेश मैनाली र प्रधानमन्त्री कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले आयोगको नतिजा बेच्ने प्रवृत्ति मौलाएको बताएका हुन् ।

‘लोकसेवा जाँच दिने पेसेवर नै छन् जो पटक–पटक नाम निकाल्छन्, तर जागिर खाँदैनन्,’ सचिव गुरागाईंले भने, ‘कारण के रहेछ भनेर खोज्दै जाँदा त वैकल्पिकसँग रकम लिने रहेछन् । पास भएको व्यक्तिले नियुक्ति नलिएपछि वैकल्पिक जागिर खान पाउने भयो । यस्तो सेटिङ हुँदोरहेछ ।’

लोकसेवामा आठपटकसम्म नाम निकालेर नियुक्ति नलिएको केस पनि भेटिएको उनले बताए । सचिव मैनालले लोकसेवा नतिजाको किनबेचको थप उदाहरण पेस गरे । ‘धादिङमा एउटा केटोले सुब्बामा नाम निकाल्यो, तर नियुक्ति लिएन । पछि काठमाडौँ आएर खरिदारमा जागिर खायो,’ उनले भने, ‘किन रहेछ भनेको त सुब्बाको पद वैकलिप्कमा नाम निकाल्नेसँग पैसामा साटेको रहेछ ।’

गुरागाईंको भनाइमा लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीले पनि समर्थन जनाए । समिति बैठकमा सहभागी मैनालीले भने, ‘लोकसेवाको नतिजा किनबेच गर्ने प्रवृत्ति मौलाएको सही हो । परीक्षा पास गरेर पनि नियुक्ति नलिने अनि वैकल्पिकसँग बार्गेनिङ गर्ने अनियमितता छ । यसलाई रोक्न ऐनमै कडा व्यवस्था गर्नुपर्छ ।’

लोकसेवा आयोगसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल चलिरहेको छ । नतिजा किनबेच गर्नेलाई दुई वर्षसम्म परीक्षामा सहभागी हुन नपाउने गरी कारबाही गर्ने व्यवस्था लोकसेवा ऐनमै गर्न लागिएको छ ।

प्रकाशित मिति: ४ पुस २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्