आलम प्रकरणबारे फेरी बोल्यो काँग्रेस, यसरी पार्यो सरकारलाई सचेत


 


काठमाडौं, पुष ४
प्रमुख प्रतिपक्षी कांग्रेसले मोहम्मद अफ्ताब आलममाथि राजनीतिक पूर्वाग्रह राखेर झुटा मुद्दा लगाइएको आरोप लगाएको छ । आफैँले बनाउन लगाएको बम विस्फोटमा घाइते भएकालाई जिउँदै इँटाभट्टामा जलाएको अभियोगमा नख्खु जेल पुगेका आलम कांग्रेसका तर्फबाट रौतहट–२ मा निर्वाचित सांसद हुन् ।

सिंहदरबारमा बिहीबार बसेको कांग्रेस संसदीय दलको बैठकले झुटा प्रमाणहरू संकलन गरेर आलमलाई षड्यन्त्रपूर्वक फसाउन खोजेको भन्दै आपत्ति जनाएको हो । नागरिकमा खबर छ । ‘राजनीतिक पूर्वाग्रह राखेर नेता, कार्यकर्ता, व्यापारी एवं सर्वसाधारणमाथि झुटा मुद्दा लगाउने कार्य तत्काल बन्द गरियोस्,’ दल बैठकपछि सचेतक पुष्पा भुसालले विज्ञप्ति जारी गरेकी छिन् ।

विज्ञप्तिमा उल्लेख छ, ‘रौतहट जिल्ला क्षेत्र नं. २ बाट निर्वाचित कांग्रेसका सांसद मोहम्मद अफ्ताब आलममाथि राजनीतिक पूर्वाग्रह राखेर झुटा प्रमाणहरू संकलन गर्दै षड्यन्त्रपूर्वक फसाउने कार्यको कांग्रेस संसदीय दल घोर आपत्ति व्यक्त गर्दछ ।

स्वतन्त्र र निष्पक्ष छानबिनमाथि पूर्वाग्रही ढंगबाट हस्तक्षेप नगर्न सरकारलाई सचेतसमेत गर्दछ ।’ काँग्रेस सभापति देउवाले आलम पक्राउ परेलगत्तै पनि उनीमाथि षड्यन्त्रपूर्वक मुद्दा लगाइएको बताएका थिए । जसको व्यापाक विरोध भएको थियो ।

प्रकाशित मिति: ४ पुस २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्