स्थायी समिति बैठकः मातृकाको माग ‘प्रचण्डपथ ब्यूताऊँ’, मन्‍त्रीबाट हटाउँदा गोकर्णलाई ‘चोट’


 


काठमाडौं – आइतबार सुरु भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समिति बैठकमा नेताले धारणा राख्नेक्रम जारी छ । बुधबार मात्र १२ नेताले आआफ्नो धारणा राखेका छन् । आइतबार नेकपा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगै महासचिव विष्णु पौडेलले प्रतिवेदन पेश गरेका छन् । प्रतिवेदनमाथि धारणा राख्ने नेताले सरकारका काम र पार्टीका कामप्रति असन्तुष्टि व्यक्त गरेका छन् । केही नेताले व्यक्तिगत रुपमै सुझाव दिएका छन् । बुधबारसम्म ३७ नेताले धारणा राखेका छन् ।

नेकपा बैठकमा बोल्ने नेताले बैठक सुरु भएको चौथो दिनसम्म आइपुग्दा नयाँ नया विषय पनि उठाएका छन्। बुधबारको बैठकमा गोकर्ण विष्टले प्रधानमन्त्रीले मन्त्रिमण्डल हेरफेर गर्दा आफ्नो आत्मसम्मानमा चोट पुगेको बताएका छन्। ‘मन्त्रिमण्डल हेरफेर प्रधानमन्त्रीको स्वविवेकको कुरा हो, जसरी फेरियो, त्यसले आत्मसम्मानमा चोट लाग्यो। कामको मूल्यांकनको विधि के हो ? ’ विष्टले भने,‘अयोग्य जस्तो गरी हामी मन्त्रीलाई हटाइयो, उहाँले पहिल्यै राजीनामा मागेको भए हामी राजीनामा दिने थियौं। यसरी फाल्दा आत्मसम्मानमा चोट लाग्यो।’

नेता मातृका यादवले पार्टी विधि र पद्धति र अनुशासनमा हिड्न नसकेको र विधि पद्दतिमा हिँडाउनका लागि तत्कालीन माओवादीले २०५७ सालमा अवलम्बन गरेको प्रचण्डपथलाई ब्यूताएर जानुपर्ने बताए। उनले आफूलाई पहिलेदेखि मन्त्रीमा बस्ने मन नभएको भन्दै मन्त्रीबाट हटाएपछि हलुंगो बनाइदिएको भन्दै प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डलाई व्याङ्ग्यात्मक शैलीमा धन्यवादसमेत दिए।

‘पार्टीमा चरम अनुशासन हिनताले भद्रगोलता ल्याएको हो। कडा अनुशासनमा लैजान पार्टीमा प्रचण्डपथ आवश्यक छ, यसलाई ब्यूताएर जाऔं,’ यादवले भने।

नेता हरिवोल गजुरेलले नयाँ संविधान निर्माणपछि करिब दुई तिहाइको समर्थन प्राप्त तीनवटा पूर्वप्रधानमन्त्री पार्टीमा कार्यकारी भूमिकामा रहेको अवस्थामा चलिरहेको कम्युनिस्ट पार्टीको नेतृत्वको सरकारले जनअपेक्षाअनुरुप काम गर्न नसकेको भन्दै नेताले आफूलाई रुपान्तरण गर्नुपर्ने बताए।

उनले पूराना नेताले आफूलाई रुपान्तरण नगरी यथाअवस्थामा चल्न खोज्दा समस्या आएको पनि बताए। उनले भने, ‘नयाँ संविधान लागू गर्ने पार्टी र नेताहरुले नयाँ संविधानले निर्दिष्ट गरेअनुरुप आफूलाई रुपान्तरण गर्नुपर्ने हुन्छ। गाडीमा नयाँ सिस्टम अपग्रेड भएपछि या त चालक नयाँ सिस्टम अनुकुलको नयाँ राख्नुपर्छ, या त पुरानो चालकले नयाँ सिसटम सिक्नुपर्छ अर्थात् आफूलाई अपग्रेड गर्नुपर्छ।’

गजुरेलले प्रधनमन्त्री केपी ओलीलाई एक्लै दौडिएर कतै नपुगिने भन्दै घेरा फराकिलो पार्न सुझाव दिए। ‘मुख्यतः सरकारका नीति र योजनाबारे पार्टीमा छलफल नहुदा हाम्रो उपलब्ध क्षमता र प्रतिभाको समुचित प्रयोग हुन सकेको छैन’, गजुरेलले सरकारका कामको मूल्यांकन उपशीर्षकमा लेखेका छन्, ‘प्रधानमन्त्री एक्लै दौडिएर मात्र पुग्दैन, अरुलाई पनि दौडाउन सक्नु पर्दछ। प्रधानमन्त्रीले आफ्नो घेरा फराकिलो पार्न जरुरी छ।’

उनले निर्वाचन प्रणाली महँगो हुदा भष्टाचार वढेको तर्फ पनि पार्टीको ध्यानाकर्षण गराए। रायमाझीले कालापानी क्षेत्रको मात्र नभई भारतसँगको सीमा समस्याका सबै क्षेत्रको विषय दस्तावेजमा उल्लेख गर्नुपर्ने बताए। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट लिइएको हो ।

प्रकाशित मिति: ३ पुस २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्