जडिबुटी संकलनका लागि गएका १२ जना बेपत्ता


 


जुम्ला- जुम्लामा जडिबुटी संकलनका लागि गएका १२ जना बेपत्ता भएका छन्।वेपत्ता हुनेमा तिला ९ ढिपु गाउँका धनबहादुर बोहोरा,छविराज बोहोरा,जंग रावत, सुमबहादुर बोहोरा, नरबीर बोहोरा, तुलु बोहोरा, ननिलाल रावत, सुर्य रावत, कल्पना बोहोरा, लाउरी बोहोरा, रेश्मा बोहोरा र मनमाया बोहोरा रहेका रहेका छन्

तिला गाउँपालिका ९ स्थित शेरा फुलबारी पाटनमा जडिबुटी संकलन गर्न गएका १२ जना अझै फर्केका छैनन्। उनीहरु पाटनमा कस्तो अवस्थामा छन्,के गरिरहेका छन् भन्ने बारेमा सम्पर्क हुन सकेको छैन्।  बिहिवार सेतक चिनी, भुल्ते, धुपी र पदमचाल जडिबुटी संकलनका लागि उनीहरु पाटन तिर गएका थिए। जडिबुटी संकलनका लागि गएकाहरुको कुनै सम्पर्क हुन नसकेको तिला ९ का वडाध्यक्ष शेरबहादुर बोहोराले जानकारी दिए।

यो संगै पाटनदेखि सेतक चिनी ल्याएर आएका एक खच्चर गुवालाको मृत्यु भएको छ। तिला गाउँपालिका ६ नेटा भन्ने ठाउँमा चिसोले कठयाँग्रिएर तिला गाउँपालिका ९ का बीनबहादुर बोहोराको मृत्यु भएको हो। पाटनबाट घर फर्कने क्रममा उनको बीचबाटोमै मृत्यु भएको वडाध्यक्ष बोहोराले बताए। उनका अनुसार मृतक बोहोरा संगैका चार जना खच्चर गुवाला सकुशल फर्केका छन्। मृतकको शव लिन स्थानीय त्यस तर्फ गइसकेका छन्। तर भारी हिमपातका कारण शव खोज्न कठिन हुने स्थानीय बताउँछन्।

जडिबुटी खोज्न गएका स्थानीय हिउँमा परेको भन्दै तत्काल उद्धार गर्न स्थानीयले माग गरेका छन्। वडाध्यक्ष बोहोराका अनुसार उद्धारको लागि पहल गरिदिन स्थानीय प्रशासनलाई आग्रह गरिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी देबेन्द्र श्रेष्ठ बेपत्ता भएकाहरुको उद्धारको लागि गृहमन्त्रालयमा पत्र पठाउन थालेको जानकारी दिए। उनले भने,‘यो निकै दुखद पक्ष हो। उद्धारका लागि सम्बन्धित निकायालाई पत्र पठाउँदैछौँ।’

प्रकाशित मिति: २९ मंसिर २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्