नक्कली परीक्षकका नाममा २१ लाख बढी भुक्तानी


 



काठमाडौं, मंसिर २५
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुबाट नक्कली परीक्षकको नाममा २१ लाख १७ हजार भुक्तानी भएको पाइएको छ । ०७५ असोजअघि डेढ वर्षमा नक्कली परीक्षक खडा गरी यो रकम हिनामिना भएको हो । नयाँ पत्रिकामा खबर छ ।

परीक्षा नियन्त्रक पुष्पराज जोशीले डेढ वर्ष अवधिमा नक्कली परीक्षक खडा गरेर २१ लाख १७ हजार हिनामिना भएको बताए । नक्कली कागजात र भौचर बनाएर धेरै व्यक्तिको नाममा रकम लगिएको देखिएको उनले बताए ।

त्यतिवेला परीक्षण गरेको उत्तरपुस्तिकाको संख्यासहित भौचर ल्याउनेलाई चेकमार्फत भुक्तानी दिने थियो । केवल रसिदको भरमा नगद कारोबार हुँदा हिनामिना भएको त्रिविका पदाधिकारीहरू स्विकार्छन् ।

त्रिविले रकम हिनामिनाबारे गत ०७५ कात्तिकमै महानगरीय अपराध महाशाखा टेकुमा कागजातसहित उजुरी गरेको थियो । तर, प्रहरीले अहिलेसम्म पनि नक्कली परीक्षक पत्ता लगाउन नसकेको त्रिविका रजिस्ट्रार तथा परीक्षा समितिका अध्यक्ष प्रा. डिल्ली उप्रेतीले बताए ।

प्रकाशित मिति: २५ मंसिर २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्