मन्त्रीलाई सित्तैमा दौरा–सुरुवाल, कहिलै नलगाउने वादलले पनि भिरे
काठमाडौं, मंसिर १७
खेलकुदको बजेटमा मन्त्रीहरुलाई दौरा–सुरुवाल वितरण गरिएको छ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) आयोजक समितिले मन्त्रीलाई दौरा–सुरुवाल वितरण गरेको हो ।
सित्तैमा दौरा–सुरुवाल पाएपछि कहिलै नलगाउने मन्त्रीलेसमेत दौरा–सुरुवाल भिरेका छन् । नयाँ पत्रिका खबर छ ।
मन्त्री भएर सपथ खाँदासमेत दाउरा सुरुवाल नलगाएका गृहमन्त्री रामबहादुर थापा (बादल)लेसमेत यसपटक दौरा–सुरुवाल लगाएका छन् ।
उनले चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतमा विमानस्थलमा उपस्थित हुँदा अनिवार्य रुपमा दौरा–सुरुवाल लगाउन प्रधानमन्त्रीले निर्देशन दिँदा पनि बादलले अस्वीकार गरेका थिए । तर, आइतबार भने उनी अचानक रंगशालामा दौरा–सुरुवालमा प्रकट भए ।
गृहमन्त्रीसहित उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, सूचना तथा सञ्चारमन्त्री गोकुला बाँस्कोटा, खेलकुदमन्त्री जगत विश्वकर्मा,लगायत ४० जना भीआईपीले सित्तैमा दौरा–सुरुवाल पाएका छन् ।
सागका लागि विनियोजित बजेटबाट उनीहरुले छालाको कालो जुत्ता, मोजा र टोपीसम्म पाएका छन् । तर, दुर्भाग्य नेपाली खेलाडीले दौरा–सुरुवालमा मार्चपास्ट गर्ने भनिएकोमा क्रिकेट खेलाडीका लागि दौरा–सुरुवाल सिलाउन नभ्याइएको भन्दै उनीहरुलाई ट्र्याकसुटमै उतारिएको थियो ।
खेलकुदको पैसा दुरुपयोग गरेको भन्दै अर्थमन्त्री डा. युवराज खतिवडाले भने दौरा–सुरुवाल अस्वीकार गरेको खबर छ ।
प्रकाशित मिति: १७ मंसिर २०७६, मंगलबार