वीर अस्पतालको दुई सय रोपनी जग्गा व्यक्तिको नाममा, वर्षौंदेखि प्रतिवेदन गुपचुप


 



काठमाडौं, मंसिर १०
वीर अस्पतालको गुठीको नाममा रहेको दुई सय रोपनी जग्गा व्यक्तिको नाममा दर्ता भएको खुलासा भएको छ ।

गुठीको जग्गा व्यक्तिको नाममा दर्ता भएको ठहरसहित २०६७ सालमा तयार भएको प्रतिवेदन गुपचुप राखी चिकितस विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले अर्को समिति गठन गरेको खुलेको छ । नागरिकमा खबर छ ।

तत्कालीन सहसचिव दुर्गा मानन्धरको नेतृत्वमा गठित वीर अस्पताल गुठी जग्गा छानविन समितिले प्रतिवेदन बुझाएको थियो । सो प्रतिवेदनमा अस्पताल गुठीको नाममा मुलुकभर रहेको करिब १४ हजार रोपनीमध्ये काठमाडौं उपत्यकाभित्र महत्पूर्ण स्थानमा रहेको जग्गा व्यक्तिको नाममा रहेको उल्लेख छ ।

न्याम्सले प्रतिवेदन कार्यान्वयनमा नलिएर त्यही प्रकृतिको काम गर्न अर्को समिति गठन गरेको हो । न्याम्सका उपकुलपति डीएन साहले वीर वीर अस्पतालको नाममा रहेको जग्गाको वास्तविक अवस्था बुझ्न रेक्टर सुबोध अधिकारीको संयोजकत्वमा छानविन समिति गठन गरिएको बताए । उनकाअनुसार समितिले छानविनको काम सुरु गरिसकेको छ ।

एक सय ३० वर्ष अगाडि स्थापना गरिएको मुलुककै जेठो स्वास्थ्य संस्था वीर अस्पताल स्थापना गर्दा त्यसलाई व्यवस्थित दिगो ढंगल सञ्चालन गर्न वीरशमसेरले वीर अस्पताल गुठी स्थापना गरेका थिए ।

गुठीको नाममा काठमाडौं, भक्तपुर, ललिपुर, महोत्तरी, नुवाकोट, मकवानपुर, रुपन्देही, बाँकेसहितका जिल्लामा वीर अस्पताल गुठीको नाममा जग्गा रहेको प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित मिति: १० मंसिर २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्