नेपालको वास्तविक नक्सा सार्वजनिक, भारतविरुद्ध राष्ट्रसंघमा मुद्दा हाल्ने तयारी


 


काठमाडौं, कात्तिक ८

भारतका तर्फबाट मिचिएको लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको वास्तविक राजनीतिक नक्सा सार्वजनिक गरिएको छ । आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा नागरिक समाजकातर्फबाट गठन गरिएको ‘सीमा बचाऊ अभियान’ले नेपालको वास्तविक राजनीतिक नक्सा सार्वजनिक गरेको हो । नयाँ नक्सालाई आधार बनाएर नेपाली भूमि फिर्ता गराउन भारतविरुद्ध संयुक्त राष्ट्रसंघमा मुद्दा लैजाने तयारी छ ।

नक्सा तयार पारिएको विधिबारे जानकारी दिँदै अभियान्ता प्रा।डा।नरेन्द्रराज खनालले वैज्ञानिक र विज्ञको रायका आधारमा नयाँ राजनीतिक नक्सा तयार पारिएको बताए । ‘डिजिटल एलिभेसन मोडेलबाट रेखाङ्कन गरेका हौं’ खनालले भने,‘यही विधिबाट नक्साङ्कन गर्दा नेपाली नक्सामा कालीनदीको मुहान स्पष्ट देखिन्छ ।’

अभियानका विज्ञ कोमलचन्द्र बरालले लिम्पियाधुरालाई पश्चिमी नेपालको सीमा मानेर नक्सा तयार पारिएको र यसले विश्वव्यापी बनाउने जानकारी दिए ।

अभियानका संयोजक भैरव रिसालले नेपालको नक्साबारे घर घरमा चर्चा हुनुपर्ने बताए । ‘ अरुको जमिन नलिने र आफ्नो जमिन अलिकति पनि नछोड्ने हाम्रो मूल सिद्धान्त हो’ संयोजक रिसालले भने ‘सार्वजनिक गरिएको नक्सा सुगौली सन्धीअनुसारको तयार भएको छ ।’ भारततर्फबाट नेपाली भूभागमा गोलमाल भएको कारण नयाँ नक्सा सार्वजनिक गर्नु परेको उनको भनाई थियो ।

नापी विभागका पूर्वमहानिर्देशक पुण्य दाहालले कालीनदीको मुहानसम्म नेपाल रहेको प्रमाण सुरक्षित रहेको बताए ।

पूर्वराजदूत हिरण्यलाल श्रेष्ठले भारतले निकालेको नक्सालाई काउन्टर गर्न नक्सा सार्वजनिक गर्नु परेको बताए । ‘भारतको नयाँ नक्सालाई हामीले मिलेर प्रतिरोध गर्न आवश्यक छ’ उनले भने ।

पूर्व सचिव तथा अभियान्ता डा. द्धारिकानाथ ढुंगेलले तयार पारिएको नक्सा नेपाल सरकारदेखि संयुक्त राष्ट्रसंघसम्म पुर्याइने उद्घोष गरे ।

प्रकाशित मिति: ८ मंसिर २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्