ओलीको पक्षमा उत्रिए कांग्रेस नेताहरु, देउवाको ‘तुच्छ’ आरोपको सर्वत्र आलोचना
काठमाडौं, कात्तिक ८
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतले जारी गरेको नयाँ नक्सालाई लिएर प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीमाथि गम्भीर आरोप लगाएपछि उनको कडा आलोचना भएको छ ।
सत्तारुढ नेकपा तथा आफ्नै पार्टीभित्रबाट उनको कडा आलोचना भइरहेको छ । कांग्रेस नेताहरु ओलीको पक्षमा उभिएका छन् ।
शनिबार आयोजित एक कार्यक्रममा बोल्दै देउवाले प्रधानमन्त्री ओलीको मिलेमतोमा भारतले नयाँ नक्सा जारी गरेको अभिव्यक्ति दिएका थिए । ओलीको राष्ट्रवाद कालापानीमा विसर्जन भएको उनको भनाई थियो ।
‘ओलीले भारतसँग केही भित्री सल्लाह गरेरै त्यो नक्सा छापेर निस्केको हो । भारतले त्यसै छापेकै होइन, ओलीसँग सल्लाह गरेरै छापेको हो । ओलीको सहमतिविना त छाप्नै सक्दैन,’ देउवाले भने ।
देउवाले प्रधानमन्त्री ओलीको राष्ट्रवाद लिपुलेक र कालापानीमा घुँडा टेक्दै लम्पसारवादमा परिणत भएको पनि टिप्पणी गरे । ‘ओलीले राष्ट्रवादका नाममा अघिल्लोपटक चुनाव जितेका होइनन् ? कहाँ छ त्यो राष्ट्रवाद अहिले ? त्यो राष्ट्रवाद त, ओलीको राष्ट्रवाद त अहिले कालापानीमा गएर समर्पणवादमा घुँडा टेकेको छ । ओली राष्ट्रवाद कालापानीमा गएर लम्पसारवादमा परिणत भएको छ । त्यसकारण ओली राष्ट्रवादी नै होइनन्,’ उनले भने ।
ओलीले कालापानी नेपाल भएको र त्यसका लागि परराष्ट्र मन्त्रालयमार्फत कुटनीतिक नोट पठाउँदै नक्साप्रति असहमति जनाइरहेका बेला देउवाको यो अभिव्यक्ति भने विवादमा परेको हो । सामाजिक सञ्जालमा सर्वत्र आलोचना भइरहेको छ ।
धेरैले नाकाबन्दीलाई नाकाबन्दी भन्न नसकेर परिस्थितीजन्य स्थिती भन्ने देउवाले नाकाबन्दीको डटेर सामना गर्ने ओलीको मिलेमतोमा भारतको नयाँ नक्सा सार्वजनिक गर्नु अशोभनीय तथा पूर्वप्रधानमन्त्रीले दिने अभिव्यक्ति नभएको उल्लेख गरेका छन् । उनीहरुले गैरजिम्मेवारी अभिव्यक्ति दिएर कच्चा कुटनीतिको प्रदर्शन नगर्न देउवालाई सचेत समेत गराएका छन् ।
कांग्रेस नेता डा. शेखर कोइरालाले सीमाको विषय अन्यन्त संवेदनशील भएकाले यस्तो विषयलाई सभापति देउवाले सार्वजनिक रुपमा बोल्न नहुने बताए । ‘उहाँसँग कुनै सूचना भए पनि नबोलेको भए बेस हुन्थ्यो । गम्भीर विषय भएकाले कुटनीतिक हिसावले नै जानुपर्छ’, उनले भने ।
सीमाको विषय राष्ट्रियतासँग जोडिने भएकाले यस्ता विषयमा पूर्वप्रधानमन्त्रीजस्तो जिम्मेवार नेतासँग केही सूचना भए प्रधानमन्त्रीसँग बसेर वार्ता गर्नुपर्ने र बाहिर बोल्न नहुने कोइरालाको भनाई छ । प्रधानमन्त्री ओलीलाई लाञ्छना लगाएर राम्रो नहुने भन्दै कोइरालाले सीमाको विषयमा सबै दल एक ठाउँमा आउनुपर्ने बताए ।
नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमले देउवाको भनाई कडा आपत्ति जनाएका छन् । ‘आजसम्म यस्ता कुरा कसैले पनि भनेका थिएनन । उहाँले कसरी भन्नुभो भन्न सकिन्न । त्यो उहाँको उटपट्याङ कुरा हो’, गौतमले भने ।
‘योभन्दा ठूलो झुट र निराधार कुरा अरू केही पनि हुन सक्दैन । कांग्रेसमा राजनीतिक चिन्तनको स्खलन अत्यन्त दरिद्र अवस्थामा पुगिसकेछ, विचार अन्तिम–अन्तिम र अझ समाप्तिको अवस्थामा पुगिसकेछ भन्न सकिन्छ । कांग्रेसलाई योबाहेक अरू केही भन्न सकिन्न’, गौतमले थपे ।
प्रकाशित मिति: ८ मंसिर २०७६, आइतबार