माधव नेपाल र भीम रावललाई ठेगान लगाउन शीतल निवासमा ओली–प्रचण्डको ‘मिटिङ’


 


काठमाडौं, कात्तिक ७

मन्त्रिपरिषद पुनर्गठनअघि राष्ट्रपति कार्यालय शीतल निवासमा बसेको प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग राष्ट्रपति विद्यादेवी भण्डारीको बैठक अहिले विवादमा परेको छ ।

प्रतिपक्षी नेपाली कांग्रेससँगै स्वयं सत्तारुढ नेकपाभित्र समेत यो बैठकको विरोध भएको छ । संवैधानिक राष्ट्रपति एउटा पार्टीको कार्यकारी जसरी सक्रिय भएको भन्दै कांग्रेसले आलोचना गरिरहेको छ भने नेकपाका नेताहरुले सर्वाेच्च र सम्मानित पदमा बसेर राष्ट्रपतिले पार्टीभित्र गुटगत राजनीति गरेको, आफ्नो पकड जमाउन खोजेको भन्दै असन्तुष्टि जाहेर गरेका छन् ।

यही सिलसिला बीच शीतल निवासमा राष्ट्रपति भण्डारीलाई साक्षी राखेर गरिएको निर्णयको विवादित पाटो खुलासा भएको छ । शीतल निवासको बैठक नेकपाभित्र माधवकुमार नेपाल र भीम रावलहरुलाई ठेगान लगाउनका लागि भएको खुलेको छ ।

बैठकको निर्णयको सन्देश नेकपाका साथै कांग्रेस नेताहरुले पनि पाइसकेका छन् । जून पुनर्गठित मन्त्रिमण्डले पनि देखाइसकेको छ । जसमा माधव नेपाल समूहलाई पेलेर लगिएको छ भने सरकारकै सकारात्मक आलोचक रावललाई पछारिएको छ । अहिलेको मन्त्रिमण्डलमा ओली र प्रचण्डकै हामीमुहाली छ । त्यसमा राष्ट्रपति भण्डारी गुट पनि सामेल छ ।

यसैबीच नेपाली कांग्रेसका युवा नेता गगन थापाले शीतल निवासको निर्णयको सार्वजनिक रुपमै बोलेर राष्ट्रपति भण्डारीको भण्डाफोर गरेका छन् । माधव नेपाल र भीम रावलहरुलाई ठेगान लगाउन राष्ट्रपतिले ओली प्रचण्डको बैठक राख्नु पदीय गरिमा विपरित भएको उनको भनाई थियो । यसले पदको गरिमामै आँच पुगेको उनको ठहर छ ।

प्रकाशित मिति: ७ मंसिर २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्