रवीन्द्र अधिकारीलाई सम्झिँदै भावुक भए गगन थापा, कास्की पुगेर विद्याको बारेमा के भने ?
पोखरा, कात्तिक ७
नेपाली कांग्रेसका युवा नेता गगन थापाले नेकपाका स्वर्गीय नेता एवं तत्कालिन पर्यटनमन्त्री रवीन्द्र अधिकारीलाई सम्झिएका छन् ।
मंसिर १४ गते कास्की २ मा हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस उम्मेदवार खेमराज पौडेलको पक्षमा जनमत सिर्जना पोखरा आइपुगेका थापाले अधिकारीलाई पनि सम्झिएका हुन् ।
नेता थापाले रवीन्द्र अधिकारीसँग लामो समय सहयात्रा तथा दाजुभाइको सम्बन्ध रहेको स्मरण गरे ।
गणतन्त्र स्थापनाका लागि रवीन्द्रको ठूलो योगदान परेको भन्दै उनले भने, ‘रवीन्द्रको आदर र सम्मान गर्छु भनेर कसैले रवीन्द्र अधिकरीको परिवारलाई भोट हाल्छु भन्नुहुन्छ भने त्यो त गणतन्त्रकै अपमान हुन्छ । किनकी गणतन्त्रमा नातागोता हेरिँदैन ।’
यद्यपि गगनले रवीन्द्र पत्नी विद्या भट्टराईको बारेमा प्रत्यक्षरुपमा भने केही भनेनन् । अप्रत्यक्ष रुपमा भने पारिवारवादको विरोध गर्दै भोट नहाल्न भन्न भ्याए ।
नेता थापाले जुद्धशमशेरदेखि यता कसैले नपाएको दुई तिहाई बहुमतको अवसर प्रधानमन्त्री केपी शर्मा ओलीले पाएको बताए । तर २१ महिनाको सरकारले संघीयता, गणतन्त्र, समावेशीता र संविधानमाथि प्रहार गर्ने काम गरेको उनको भनाई छ ।
देशकै अभिभावक राष्ट्रपति एउटा पार्टीको नेताका रुपमा प्रस्तुत भइरहेको थापाले आरोप लगाए । देशका हरेक क्षेत्रमाथि हस्तक्षेप भइरहेको बताउँदै थापाले भने, ‘अब श्री ६ केपी शर्माको जय भन्नेबाहेक सबै जेल जाने अवस्था आउँदैछ ।’
त्यसो त कास्की क्षेत्र नम्बर २ मा हुन लागेको उपनिर्वाचनमा पार्टीका उम्मेदवार खेमराज पौडेलका पक्षमा जनमत सिर्जना गर्न नेपाली कांग्रेसका शीर्ष नेता कास्कीमा छन् ।
सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेलदेखि गगन थापासम्मका नेताहरु कास्की आएका छन् ।
शुक्रबार दिनभर चुनावी कार्यक्रम, सभा र र्यालीसमेत गरेर खेमराजका पक्षमा माहोल सिर्जना गरेका छन् । कांग्रेसको भ्रातृ संगठन दरुण दल, नेपाल विद्यार्थी संघ र शुभेच्छुक संस्थाहरुका प्रतिनिधिसमेत कास्कीको चुनावी अभियानमा सामेल भएका छन् ।
प्रकाशित मिति: ७ मंसिर २०७६, शनिबार