गोकर्ण विष्टलाई मन्त्रीबाट हटाएलगत्तै मेनपावर व्यवसायीको दादागिरी सुरु
काठमाडौं, कात्तिक ७
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुनर्गठनका क्रममा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टलाई पदबाट हटाएपछि मेनपावर व्यवसायीको चुरफुरी बढेको छ ।
गोकर्ण विष्ट हटेर नयाँ मन्त्री आएकै भोलिपल्ट वैदेशिक रोजगार व्यवसायी संघले आफूहरुले ठग्न पाउनुपर्ने खालको आशय राखेका छन् । मेनपावरलाई नियमन गर्ने सरकारी अड्डा वैदेशिक रोजगार विभागलाई पत्र पठाएर उनीहरुले हरेक काममा सहकार्य गर्न भनेका छन् । जबकी विभागका महानिर्देशक डा. भिष्मकुमार भुसालले अहिले विभाग परिसरमा मेनपावर दलाललाई प्रतिबन्ध लगाएका छन् भने मेनपावरमा पनि कडाइका साथ अनुगमन गरी कारवाही गरिरहेका छन् । सधै घुस खाने अड्डा र दलालहरुको अड्डाका रुपमा परिचित विभागको छवि सुधार्न गोकर्ण विष्टले आफूजस्तै इमान्दार व्यक्ति विभागमा महानिर्देशक बनाएका थिए । तर, विष्ट हटेसँगै व्यवसायीहरुले विभागलाई चेतावनी तथा धम्कीजस्तो पत्र पठाएर दबाब दिन सुरु गरेका छन् ।
‘व्यवसायीले यसरी सहकार्यको अपेक्षा गरे तापनि वैदेशिक रोजगार विभागले कुनै सम्पर्क, सम्वाद, सहकार्य र छलफल नगरी एकतर्फी रुपमा एक पछि अर्को गर्दै विभिन्न निर्णय गर्ने, विभिन्न कागजात माग गर्ने र नयाँ नयाँ प्रावधानहरु लागू गर्नेजस्ता कार्यले व्यवसायीमा द्विविधा उत्पन्न भएको देखिन्छ,’ वैदेशिक रोजगार व्यसायी संघका महासचिव सुचितकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘एकतर्फी रुपमा गरिएका निर्णय र प्रावधानले सकारात्मक परिणाम नदिने भएकाले आगामी दिनमा ईजाजतपत्र प्राप्त वैदेशिक रोजगार व्यवसायीसँग सम्बन्धित निर्णय, प्रावधानहरु लागू गर्दा नेपाल वैदेशिक रोजगार व्यवसायी संघसँग सहकार्य गरी निर्णय, प्रावधान लागू गर्न गराउन वैदेशिक रोजगार विभाग लगायत सम्बन्धित निकायमा अनुरोध गरिन्छ ।’
यता राम्रो काम गरेका गोकर्णलाई हटाएको भन्दै चोतर्फी सरकारको विरोध भइरहेको छ । पार्टीभित्रै नेताले सरकार दलाल र पुँजीपतिको वर्गको चंगुलमा फसेको टिप्पणी गरेका छन् ।
प्रकाशित मिति: ७ मंसिर २०७६, शनिबार