मन्त्रिपरिषद् पुनर्गठनमा जसले धोका पाए…
काठमाडौंं, मंसिर ६
मन्त्रिपरिषद् पुनर्गठनमा केहीलाई सरप्राइज, केहीलाई धोका भएको समाचार प्रकाशित गरेको छ । पटक–पटक मन्त्री भइसकेका हृदयेश त्रिपाठी र पहिलोपटक मन्त्रीको कार्यभार लिएर सिंहदरबार छिरेका वसन्तकुमार नेम्वाङका लागि यो ‘सरप्राइज’ निर्णय हो ।
प्रधानमन्त्री ओलीको ‘क्याबिनेट’ मा मन्त्री भएर छिर्ने अधिकांशले बुधबार साँझसम्म आफू मन्त्री बन्दै छु या छैन भन्ने सुइँको पाउन सकेका थिएनन् । नयाँ मन्त्रीबारे ओली र दाहालले धेरै जनासँग परामर्श गरेकाले उनीहरूलाई आफैं पो मन्त्री बन्दै छु कि भन्ने आस हुनु स्वाभाविक थियो ।
उनीहरू छिनछिनमा अध्यक्ष र उनीहरूका स्वकीय सचिवालयका सदस्यहरूलाई फोन गरेर केही निधो भयो कि भनेर सोधिरहन्थे । सञ्चारमाध्यममा आइरहने अनुमानित मन्त्रीमा आफ्नो पनि नाम देखेपछि उनीहरूको हुटहुटी झन् बढ्थ्यो ।
राष्ट्रपति कार्यालयको सूचनाले यी नवनियुक्त मन्त्रीहरू छक्क परेजस्तै अत्यधिक चर्चा भएर पनि समेटिन नसकेका नेताहरू खङ्ग्रङ्ग परेका थिए । तिनैमध्येका हुन्– प्रभु साह । मधेसबाटै प्रतिनिधित्व गर्ने मातृका यादव बाहिरिने निश्चित भएपछि अध्यक्ष पुष्पकमल दाहालले साहलाई बोलाएर भनेका थिए, ‘मातृकाजीको ठाउँमा तपाईंलाई पठाउने विचार गरेको छु ।’
नेकपाको प्रदेश २ भित्रको राजनीतिलाई लिएर नेतृत्वसँग असन्तुष्ट रहेका साह अध्यक्षको आश्वासनले ‘पुलकित’ थिए । बुधबार रातिसम्म पनि आफू मन्त्रीको सूचीमा पर्नेमा ढुक्क थिए । तर प्रदेश २ का केही नेता र साहलाई नरुचाउने नेकपा नेतृत्वको दबाबमा अर्का सांसद रामेश्वर राय यादवलाई मन्त्रीका लागि सिफारिस गर्न अध्यक्ष दाहाल ‘बाध्य’ भए ।
प्रकाशित मिति: ६ मंसिर २०७६, शुक्रबार