भारतीय राजदूतावास अगाडि धर्ना


 


काठमाडौँ, २२ कात्तिक

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भ्रातृ सङ्गठन अनेरास्ववियूले आज भारतीय राजदूतावास अगाडि धर्ना दिएको छ । भारतीय पक्षले नेपाली भूमि कालापानी, लुम्पियाधुरा र लिपुलेक आफ्नो नक्सामा राखेको आरोप लगाउँदै अखिलले बिहान ११ देखि साढे १२ बजेसम्म दूतावास घेराउ गरेको हो ।

घेराउपछि आयोजित कोणसभामा अखिलका संयोजक ऐन महरले भारतलाई नेपालको भूमि अतिक्रमण नगर्न र असल छिमेकीका रुपमा व्यवहार गर्न आग्रह गरे भने सहसंयोजक रञ्जीत तामाङले भारतले सार्वजनिक गरेको नक्सा मान्य नभएकाले सच्याउन माग गरे ।

अमृत क्याम्पसबाट नारा जुलुस गर्दै गएको जुलुस लैनचौरस्थित दूतावास अगाडि पुगेर धर्ना दिएको थियो । विद्यार्थी नेता सुदेश पराजुलीले आइतबार नेपालको भूमि फिर्ता गराउन परराष्ट्रमन्त्रीलाई कूटनीतिक तवरबाट पहल गर्न दवाव दिने र सोमबार संयुक्त राष्ट्रसङ्घको नेपालस्थित कार्यालयमा ध्यानाकर्षणपत्र बुझाइने जानकारी दिए ।

यसअघि नेपाल विद्यार्थी सङ्घलगायत विद्यार्थी सङ्गठनले नेपाली भूमि मिचिएको र नयाँ नक्सा आफूहरुलाई अमान्य भएको भन्दै विरोध प्रदर्शन गरेका थिए ।

प्रकाशित मिति: २२ कार्तिक २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्